सांसद नै पुगेर बन क्षेत्रमा भवन शिलान्यास गरेपछि स्थानीयले भने- सानालाई ऐन, ठुलालाई चैन
सोमबार कैलालीको गोदावरी नगरपालिका–३ स्थित चौकिडाँडा महिला सामुदायिक वन क्षेत्र अतिक्रमण गरी बनाएका घर टहरामा सब डिभिजन वन कार्यालय अत्तरियाले डोजर चलायो । एकै दिनमा करिब ४५० घर टहराहरू वन कार्यालयले भत्काएको थियो ।

केही दिन अगाडि अतिक्रमित वन क्षेत्र खाली गराउन पत्राचार र माइकिङ गरे पनि त्यसको सुनुवाइ नभएपछि डोजर चलाएको वन कार्यालयको तर्क छ ।
बाढीपीडित र सुकुम्वासीको नाममा वन क्षेत्रमा बनाइएका घर टहरा भत्काउने अभियान चलिरहेकै बेला सोही नगरपालिका भित्रको एक अर्को सामुदायिक बन भित्र भवन निर्माणका लागि शिलान्यास गरिएको पाइएको छ ।गोदावरी नगरपालिका १ स्थित सुरक्षा महिला सामुदायीक बन क्षेत्र भित्रै बिपी स्मृति भवन निर्माणका लागि शिलान्यास गरिएको हो । बन क्षेत्र कब्जा गरेर भवन निर्माणका लागि शिलान्यास गर्न केन्द्रीय सांसद नै त्यहाँ पुगेका थिए । नेपाली कांग्रेसका प्रदेश सभापति तथा कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य वीर बहादुर बलायरले सुरक्षा महिला सामुदायीक बन क्षेत्र भित्रै शिलान्यास गरेका हुन् ।

केन्द्रीय सांसद बलायर मात्र होइन बनकी अध्यक्ष लक्ष्मी भण्डारी पनि बन क्षेत्र अतिक्रमण गरेर बनाइने भवनको शिलान्यास गर्न पुगेकी थिइन् । उनले आफूहरूलाई सामुदायिक बनको जग्गा दिने अधिकार नभएको तर, भोगाधिकार ल्याउने आश्वासन दिएपछि आफूहरूले सहमति दिएको बताइन् ।
‘हामीलाई त्यो अधिकार छैन । उहाँहरूले भोगाधिकार ल्याउँछौँ भन्नु भयो’ उनले भनिन्, ‘मलाई पनि हिजो बोलाउनु भएको थियो , अनि गएको थिए । ’
वन क्षेत्र अतिक्रमण गरेर नेपाली कांग्रेसले बनाउन लागेको बिपी स्मृति भवनको लागि शिलान्यास गरिए पनि बाकी काम अघि बढ्ने बिषयमा भने विवाद सुरु भएको छ ।
एउटै नगरपालिका भित्र बाढीपीडित र सुकुम्वासीको नाममा वन क्षेत्र कब्जा गर्दा डोजर चलाएको र पार्टीको नाममा भने बन क्षेत्र भित्रै पक्की भवन बनाउन दिएको भन्दै विरोध सुरु भएको हो ।
‘बनका बिषयमा सरकारी नीति एउटै हुनु पर्छ । गरिबलाई हटाउने र धनीलाई बस्न दिने कुरा राम्रो होइन’ नेकपा एमाले गोदावरी अध्यक्ष गोकर्ण भट्टले भने ‘बन क्षेत्र अतिक्रमण गर्न माननीय नै पुगेको कुराले हामीलाई लज्जा बोध भइरहेको छ ।’
उनले त्यो निर्माण कार्य तत्काल बन्द गर्नुपर्ने बताए ।

केन्द्रीय सांसद बलायरले क्षेत्रीय कार्यालय भवनको शिलान्यास गरिएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । उनीसँगै प्रदेश सभा सदस्य प्रकाश बम र गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्ट पनि देखिएका छन् । सोमबार अतिक्रमण हटाउँदा नगरपालिकाकै डोजर प्रयोग गरिएको थियो । एकातर्फ आफै बन अतिक्रमण हटाउने अर्को तर्फ आफ्नै उपस्थितिमा बन क्षेत्रमा संरचना निर्माणका लागि शिलान्यास गर्ने मेयरको दोहोरो भूमिका प्रति पनि स्थानीयले प्रश्न उठाइरहेका छन् ।प्रदेश सरकारको बजेटमा बिपी पार्क निर्माण प्रक्रिया भइरहेको कैलाली क्षेत्र नम्बर ४ का सभापति ललित रोकायाले बताए ।
‘बिपी स्मृति भवन बनाउनै नपाइने भन्ने पनि होइन नि’ उनले भने ‘यस अघिबाटै हामीले त्यहाँ वृक्षारोपण गर्दै आइरहेका छौँ । यो अघिल्लो वर्षको बजेट हो ।’

सब डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख निराजन कडालले पनि वन क्षेत्र भित्र कुनै पनि संरचना निर्माण गर्न नदिइने दाबी गरेका छन् ।
‘हामीले अस्ति भर्खरै यहि पालिकामा ४५० टहरा हटाएका छौँ । फेरी कब्जा गर्न दिने भन्ने हुँदैन’ उनले भने ‘वन क्षेत्र भित्रै भवन बनाउने गरि शिलान्यास गरेको कुरा सुनेको छु । त्यो तत्काल रोक्न लगाउँछु । रोकिनु पर्छ । ’
उनले सामुदायिक बनले निर्णय गरेर जग्गा दिएको भन्दै त्यस्तो अधिकार सामुदायिक बनमा नरहेको बताए ।
२१ वैशाख २०८०, बिहीवार १४:५४ बजे प्रकाशित































