पहिचानका लागि लडिरहेकाहरू…….

आसिका चौधरीलाई घरमा उनका परिवारका सदस्यले मनोज कुमार चौधरी भनेर चिन्छन् । उनका आफन्तहरू पनि त्यहि नामले सम्बोधन गर्छन् । नागरिकतामा पनि उनको नाम मनोज छ ।
कैलाली जिल्ला प्रशासन कार्यालयबाट २०६४ सालमा आफू पुरुष भएको भन्दै उनले नागरिकता लिएकी थिइन् । नागरिकतामा उनले पुरुष र नाम मनोज कुमार उल्लेख गरे पनि अहिले भने उनलाई आसिका भनेर चिन्नेहरू छन् ।
यौनिक तथा लैगिंक अल्पसङ्ख्यक सूचिमा रहेको थाहा पाउन उनलाई दुई दशक बढि समय लाग्यो । त्यसपछि उनी समाजमा मनोज कुमारबाट आसिकामा रूपान्तरित भइन् ।
त्यो बेला सम्म उनको पुरुषसँगै विवाह समेत भइसकेको थियो । उनीहरु दुवैको लामो समय वैवाहिक यात्रा जारी रहन सकेन । अहिले दुबै छुट्टिएका छन् । तर, उनीहरूसँग न विवाह गरेको रेकर्ड छ न छोड पत्र भएको ।
‘महिला र पुरुषको विवाह हुँदा समाजले सम्मान गर्छ, छोड पत्र हुने अवस्थामा पनि उनीहरूलाई रोक्ने प्रयास गर्छ तर, हामीलाई त दुबै बेलामा समाजले फरक व्यवहार गर्ने रहेछ’ उनले सम्झिइन्,‘हाम्रो त यो समाजमा कुनै अर्थ रहेन छ ।’
यौनिक तथा लैगिंक अल्पसङ्ख्यक समुदायमा रहेर पनि पुरुषको नामबाट नागरिकता बनाउनु परेको बाध्यताले उनलाई सबै भन्दा बढि पिरोलेको छ । त्यसै माथि मतदानका बेलामा पुरुषले महिलाको लाइनमा पठाउने र महिलाले पुरुषको लाइनमा पठाउने गरेको अनुभूति समेत छ उनीसँग ।
‘महिलाको लाइनमा लाग्दा नागरिकताको नाम हेरेर तपाइको लाइन उता हो भन्दै पुरुषको लाइनमा पठाउँछन्, पुरुषको लाइनमा लाग्दा शारीरिक बनावट हेरेर महिलाको लाइनमा पठाउँछन्’ उनले भनिन् ‘निर्वाचनका बेलामा हामीलाई सम्झेर छुट्टै लाइन नबनाउँदा पनि समस्या छ ।’
पोखराकी सिम्रन शेरचनको नागरिकतामा नवीन शेरचन लेखिएको छ । उनले पनि पुरुषको नामबाट नागरिकता बनाएकी छन् । अहिले अन्यबाट नागरिकता बनाउँदा निकै झन्झटिलो भइरहेको उनको भनाइ छ ।
उता मोरङकी करुणा नेपालको नाम पनि नागरिकतामा चिन्तामणि नेपाल रहेको छ । नागरिकतामा उनलाई पनि पुरुषमै राखिएको छ । नागरिकतामा पुरुष लेखिएको भए पनि उनी आफूलाई तेस्रो लिंगिको सूचिमा राख्न चाहन्छिन् । चिन्तामणिबाट करुणा भएकी उनले अहिले सम्म नागरिकतामा करुणा भने लेख्न पाएकी छैनन् ।
नागरिकतामा उल्लेखित नाम र लिङ्ग परिवर्तन गर्न चाहे तेस्रो लिंगीले चिकित्सकबाट प्रमाणीकरण गर्नुपर्ने भएकाले उनीहरु समस्यामा परेका हुन् ।
पछिल्लो समय तेस्रो लिङ्गीलाई ‘अन्य’ नै भनेर नागरिकता दिने गरिएको छ । तर, यसअघि नागरिकता लिइसकेकाले आफ्नो लिङ्ग परिवर्तन भएको भनी लैङ्गिक पहिचान र नाम फेर्न चाहेमा चिकित्सकले प्रमाणीकरण गरेको कागजात पेश गर्नुपर्ने प्रावधान राखेपछि उनीहरु समस्यामा परेका हुन् ।
नेपालमा लिङ्ग परिवर्तन गर्ने अस्पतालहरू नभएको र लाखौँ खर्च गरेर विदेशमा गएर लिङ्ग परिवर्तन गर्न सम्भव नभएका कारण पुरुष भएर जन्मिएर पनि महिलाको स्वभाव भएका वा महिला भएर जन्मिएर पनि पुरुषको स्वभाव भएका तेस्रो लिङ्गीलाई अहिले आफ्नो नागरिकतामा ‘लिङ्ग’ परिवर्तन गर्न समस्या भइरहेको हो ।
‘हाम्रो नाम र लैङ्गिक पहिचान भिन्न छ । त्यसैमाथि लैङ्गिक पहिचानसँग मिल्ने नाम नहुँदा हामीलाई नागरिकता देखाउनै समस्या हुन्छ’ करुणाले भनिन्, ‘हामीसँग नागरिकता हुँदा पनि नभएको जस्तो भएको छ । ’
पछिल्लो समय नागरिकता पाउन समस्या छैन। तर, उनीहरूलाई नागरिकता पाए पनि अधिकार पाउन भने अझै सकस छ । कैलालीको कैलारी गाउँपालिकाकी निरङ्ग चौधरीले अन्य मार्फत नागरिकता मात्रै बनाएकी छैनन् उनले राहदानी समेत बनाइसकेकी छन् । नागरिकता र राहदानी हुँदा पनि समस्या भइरहेको उनको भनाइ छ ।
‘लोकसेवा आयोगको परीक्षामा पुरुष र महिलाको मात्रै उपस्थिति लिएर आएका थिए । मैले आफ्नो बारेमा भनेपछि मात्रै मेरो उपस्थिति हुने अवस्था आयो’ उनले भनिन्, ‘नागरिकता र राहदानी हुँदा पनि समाजले सरल दृष्टिकोणले हामीलाई हेरिरहेको छैन ।’
पहिचान लुकाएर नागरिकता लिन बाध्य भएको र आफ्नो पहिचानका बिषयमा बताउन नसक्ने भएको हुँदा सरकारी तथ्याङ्कहरूमा पनि अन्यको संख्या कम देखिएको सुदूरपश्चिम समाजकी अध्यक्ष करुणा नेपालले भनिन्
‘हाम्रो पहिचान नहुँदा हामी नागरिक भएर पनि पहिचानको नागरिकता पाउनबाट वञ्चित छौँ’ उनले भनिन्, ‘आफ्नो पहिचान बताउन नसक्दा सरकारी तथ्याङ्कमा अन्यको तथ्याङ्क पनि सही आउन सकेको छैन ।
सुदूरपश्चिम समाजका अनुसार जिल्ला प्रशासन कार्यालय कैलालीबाट २ जनाले मात्र अन्यबाट नागरिकता लिएका छन् । ४ जनाले भने अन्यबाट राहदानी लिएको समाजकी अध्यक्ष नेपालले बताइन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशी प्रक्रिया पुरा भएर आएकाहरूको लागि नागरिकता प्राप्तिमा समस्या नरहेको बताउँछन् ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्याङ्कले कैलालीमा मात्रै २ हजार ३४९ जना तेस्रो लिङ्गी रहेको जनाउँछ । २ हजार ३४९ जना तेस्रो लिङ्गी मध्ये २ ले मात्रै अन्यबाट नारिकता लिएका छन् । अधिकांशले भने विभिन्न सामाजिक पारिवारिक कारणले गर्दा अझै पनि महिला वा पुरुषको नाममा नागरिकता लिइरहेको पाइएको यौनिक तथा लैगिंक अल्पसङ्ख्यकहरूको महासंघ नेपालकी कार्यक्रम संयोजक शेरचनले बताइन् ।
‘नागरिकताको लागि वडा कार्यालयको सिफारिस अनिवार्य हुन्छ । अन्यबाट सिफारिस लिन जानै समस्या भएको गुनासो पनि हामीसँग आइरहेको छ’ उनले भनिन् ‘त्यस्तो अवस्थामा तेस्रो लिङ्गी भएर पनि पुरुष र महिलाबाट नागरिकता लिन बाध्य छन् ।’
‘आफ्नो इच्क्षाको नाम र लिङ्गको आधारमा नागरिकता दिनु पर्ने उनीहरुको माग छ । नागरिकता लिन गएको व्यक्तिले आफ्नो स्वघोषणाको आधारमा नागरिकता पाउनु पर्छ’ उनले भनिन् ‘चिकित्सकबाट प्रमाणीकरण भन्ने कुराले समस्या भइरहेको छ । यो प्रावधान परिवर्तन हुनुपर्छ ।’
यौनिक तथा लैगिंक अल्पसङ्ख्यक समुदायमालाई राज्य स्तरबाट नै बिभिन्न अवसर दिन आवश्यक रहेको शेरचन बताउँछिन् । लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि राज्यले छुट्टै नीति बनाउनु पर्ने उनको भनाइ छ ।
२१ वैशाख २०८०, बिहीवार ०९:२७ बजे प्रकाशित