सर्पले डस्दा एकजनाको मृत्यु
विषालु सर्पले डस्दा बैतडीमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका-२ डाँगाटोलकी २५ वर्षीया निर्मला लुहार रहेकी बैतडीका प्रहरी प्रवक्ता रहेका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।
भैंसीलाई घाँस हाल्न गोठमा गएकी निर्मलाको टाउकोमा सर्पले टोकेको थियो। सर्पले टोकेको केही बेरपछि निर्मलाको मृत्यु भएको जनाइएको छ।
यसअघि गत असोजमा पञ्चेश्वर गाउँपालिका(४ आम्चौराका १२ वर्षीय सुरजराम सार्कीको पनि सर्पको टोकाइबाट ज्यान गएको थियो।
यसैबीच जिल्लाको पाटन नगरपालिका-६ पौरेउडाका ४० वर्षीय मदनराम पहरी मृत अवस्थामा फेला परेका छन्। पहरी घरनजिकै रहेको भिमलको रूखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।
उनको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।
१८ वैशाख २०८०, सोमवार ०६:३० बजे प्रकाशित































