सरकारबारे निर्णय लिन रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक भोली बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को केन्द्रीय कार्य समिति र संसदीय दलको बैठक सोमबार बस्ने भएको छ।
डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएपछि रिक्त स्थान पूर्तिका लागि संसदीय दलको बैठक तय गरिएको र पछिल्लो राजनीतिक परिस्थितिबारे पार्टीको धारणा तय गर्न केन्द्रीय समितिको बैठक आह्वान गरिएको हो।
केन्द्रीय कार्य समिति र संसदीय दलको बैठक बारे रास्वपाले शनिबार जुम मिटिङ गरेर जानकारी दिएको थियो।
‘हालै सम्पन्न उपनिर्वाचनबाट पार्टी सभापति रवि लामिछाने निर्वाचित भइसकेपछि संसदीय दलको नेतामा म कायम रहिरहन वाञ्छनीय नभएकाले शनिबार नै राजीनामा दिइसकेको छु,’पार्टी उपसभापति डोलप्रसाल अर्यालले भने, ‘सम्भवतः भोलि बस्ने बैठकले सभापतिलाई संसदीय दलको नेता चुन्ने छ।साथै पछिल्लो राजनीति अवस्थाबारे छलफल गर्न केन्द्रीय समितिको बैठक पनि बस्ने छ।’
उनका अनुसार सोमबार बिहान ११ बजे केन्द्रीय समितिको बैठक र दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको छ।
सरकारबारे पनि समीक्षा हुने
प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमै सहभागी गराउने पक्षमा छन्। उनले रास्वपाका सभापति रवि लामिछानेलाई अनौपचारिक प्रस्ताव पनि गरेका छन्।
तर, रास्वपाले भने दाहाल नेतृत्वको सरकारले पछिल्लोपटक ल्याएको सरकारको न्यूतम साझा कार्यक्रममै विमित जनाएको छ। र, परिवर्तनको शर्त राखेको छ।
ुएमाले नेतृत्वको गठबन्धन हुँदा हाम्रो पनि अपनत्व हुनेगरी कार्यक्रम आएको थियो। अहिले त्यसमा फेरबदल गरिएपछि यो सरकारमा हाम्रो नीतिगत अपनत्व छैन,ु रास्वपाका एक नेता भन्छन्, ुयही न्यूनतम कार्यक्रममा टेकेर हामी सरकारमा जाने सम्भावना नै छैन।ु
चितवन २ बाट उपनिर्वाचन जित्दै गर्दा नै पार्टी सभापति लामिछानेले सरकारलाई समर्थन दिनुपर्ने कारण नरहेको बताइसकेका थिए।
माघ २२ गते पार्टी सरकारबाट फिर्ता भइसकेयता परिस्थितिमा धेरै फेरबदल आएको र कांग्रेससमेत मिसिएपछि पार्टीले उठाउँदै आएका विषय ओझेल परेकाले यही अवस्थामा सरकारमा जानुको औचित्य नरहेको रास्वपाका नेता बताउँछन्।
१७ वैशाख २०८०, आइतवार ०८:२५ बजे प्रकाशित






























