मालाखेती अस्पतालमा ज्यान गुमाएकी सुत्केरी महिला र नवजात शिशुको शव अझै उठेन
कैलाली ।
कैलालीको मालाखेती अस्पतालमा प्रसूतिका क्रममा ज्यान गुमाएकी सुत्केरी महिला र नवजात शिशुको शव अझै आफन्तले उठाएका छैनन् । घटनाको निष्पक्ष छानबिन र क्षतिपूर्तिको माग गर्दै आन्दोलित आफन्त तथा स्थानीयहरुले माग सम्बोधन नहुँदा सम्म शव नउठाउने बताएका हुन् ।
सुरक्षित प्रसूतिका लागि अस्पताल भर्ना भएकी गोदावरी नगरपालिका– २ बस्ने २८ वर्षीया लक्ष्मी भट्टराई र उनको नवजात शिशुको सोमबार बिहान मृत्यु भएको थियो ।
चिकित्सकले पेटबाट शिशु निकालेको केही बेरपछि दुवै जनाको मृत्यु भएको हो । मृतकका आफन्तहरू अस्पतालको लापरबाहीका कारण दुबै जनाको मृत्यु भएको भन्दै आन्दोलित छन् ।
उनीहरुले दुई दिन देखी अस्पतालले लापरबाही गरेको भन्दै छानबिनको माग समेत गरिरहेका छन् ।
मृतकका आफन्त तथा स्थानीयले आज गोदावरी नगरपालिकामा समेत धर्ना दिएका थिए । गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टलाई भेटेर उनीहरुले घटनाको निष्पक्ष छानबिनको माग गरेका हुन् ।
यसै बिच घटनाको छानबिनका लागि सेती प्रादेशिक अस्पतालका प्रसूति रोग विशेषज्ञ जगदीश विष्टको संयोजकत्वमा मंगलबार बेलुका छानबिन समिति गठन गरिएको छ । सेतीमै कार्यरत डा। सृष्टि जोशी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी र प्रदेश स्वास्थ्य निर्देशनालयका ओमप्रकाश जोशीसहित समितिको सदस्य छन् । प्रहरी, प्रशासन र स्थानीय तहका जनप्रतिनिधिसहितको बैठकले समिति गठन गरेको हो ।
२९ चैत २०७९, बुधवार १५:३८ बजे प्रकाशित































