गौरीगङ्गा गोल्ड कपः नव युवा मैत्री भाव क्लब सेमिफाइनलमा
बर्दियाको नव युवा मैत्री भाव एकता समाज क्लब तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
टाइब्रेकरमा कञ्चनपुरको हिमाल फ्रेन्ड्स क्लबलाई ३–२ गोल अन्तरले पराजित गरी बर्दिया ‘जग शक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप’ को अन्तिम चारमा पुग्ने दोस्रो टोली बनेको हो। बाँकेको कोहलपुर रेसिङ सहारा क्लब यस अघि नै सेमिफाइनलमा पुगिसकेको छ। शुक्रवार भएको खेलमा निर्धारित समय भित्र दुवै टोलीले गोलरहित बराबरी खेलेपछि टाइब्रेकरबाट नतिजा निकालिएको हो। ‘खेलौँ फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगङ्गा–११ स्पोर्टस् क्लबले आयोजना गरेको प्रतियोगिता चैत ३० गतेसम्म सञ्चालन हुने छ।
प्रतियोगितामा १० टीमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेतालाई ट्रफी सहित नगद ४ लाख र उपविजेता लाई ट्रफी सहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ। साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रूपमा ट्रफी सहित नगद १० हजार पुरस्कार दिइने छ।
२४ चैत २०७९, शुक्रवार २१:१२ बजे प्रकाशित































