मोरक्कोसँग ब्राजिलको हार
एजेन्सी – फिफा विश्वकप कतार २०२२ मा सनसनीपूर्ण प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनाएको मोरक्कोले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पाँचपटकको विश्व च्याम्पियन ब्राजिललाई पराजित गरेको छ ।
घरेलु मैदानमा मोरक्कोले अधिकांश युवा खेलाडीलाई टोलीमा उतारेको ब्राजिलमाथि २–१ को रोमाञ्चक जित निकालेको हो । मोरक्कोको जितमा सोफिएन बोउफल र अब्देलहामिद साविरीले गोल गर्दा ब्राजिलका कप्तान क्यासमिरोले एक गोल फर्काए ।
ग्रान्ड स्टेड डि टानगेरमा आइतबार बिहान भएको खेलमा ब्राजिलले घरेलु टोलीमाथि दवाव बढाएपनि मोरक्कोलाई नतिजा सुम्पिन पुग्यो । खेलको २९औं मिनेटमा सोफिएन बोउफलले गोल गरेपछि ब्राजिल खेलमा पछि परेको थियो ।
६७औं मिनेटमा क्यासमिरोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । तर, त्यो बराबरीलाई ब्राजिलले रोक्न सकेन । ७९औं मिनेटमा अब्देलहामिद साविरीले गोल गर्दै ब्राजिललाई हार चखाए ।
ब्राजिलका अन्तरिक प्रशिक्षक रामोन मेनेजेसले मोरक्कोविरुद्ध रोनी, राफयल भेइगा, एन्डरे सान्तोष, रोजर इवानेज, भिटर रोकी, युरी अल्बर्टो र आर्थरजस्ता युवा र नयाँ खेलाडीलाई मौका दिएको थियो ।
कप्तान क्यासमिरो, भिनिसियस जुनियर, रोड्रिगो, लुकास पाक्वेटा, एडर मिलिसाओ, इमर्सन रोयल र एन्टोनीले खेलेपनि नतिजा आफ्नो पक्षमा पार्न सकेन ।
चोटका कारण नेयमार, कप्तान थियागो सिल्भा, मार्किन्हस, रिचार्लीसन, एलेक्स सान्द्रो र ड्यानी आल्भेस नहुँदा ब्राजिल समस्यामा देखिएको थियो ।
१२ चैत २०७९, आइतवार ०८:०० बजे प्रकाशित






























