बेदकोटमा ८५ लाख पेस्की लिएर १५ शय्याको अस्पताल नबनाउने कम्पनी विरुद्ध नगरपालिकामा धर्ना
कञ्चनपुरको बेदकोटमा निर्माण गर्ने भनिएको १५ शय्याको अस्पताल निर्माणमा चासो नदिएको भन्दै स्थानीय आज नगरपालिकाको कार्यालयमा धर्ना दिएका छन् ।
२०७७ सालमा शिलान्यास गरेर २०७९ सालको चैत्र मसान्त सम्ममा सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि अहिले सम्म यहाँ कुनै काम अगाडी नबढेको भन्दै स्थानीय आन्दोलित भएका हुन् ।
बेदकोट १५ शय्या अस्पताल निर्माण सङ्घर्ष समितिले फागुन २९ गते लिखत रुपमा चैत्र ४ सम्ममा अस्पताल निर्माण प्रक्रिया सुरु गर्न माग गरेको थियो । त्यसपछि पछि पनि नगरपालिकाले चासो नदिएको भन्दै आज धर्ना दिइएको सङ्घर्ष समितिका संयोजक खगेन्द्र नाथले जानकारी दिए ।
उनले अहिले सम्म नगरपालिकाले यस बिषयमा चासो नदिएको बताए। राजेन्द्र निर्माण सेवाले ८५ लाख पेस्की दिएर अहिले काम अलपत्र पारेको भन्दै तत्काल अगाडी बढाउन उनले माग गरे ।
आज कार्यालयमा २ घण्टा धर्ना दिएको सङ्घर्ष समितिले अझै माग सम्बोधन नभए १४ गते निर्माण कम्पनीको सम्पर्क कार्यालय घेराउ र निर्माण सामग्री जफत गर्ने, २० गते नगरपालिकामा तालाबन्दी गर्ने र २५ गते देखी अनिश्चितकनलीन आम हडताल गर्ने जनाएको छ ।
१० चैत २०७९, शुक्रवार १४:५१ बजे प्रकाशित































