राष्ट्रपति निर्वाचन : आजै मतदान र परिणाम, सोमबार शपथ
देशको तेस्रो राष्ट्रपति चुन्न बिहीबार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान १०–३ बजेसम्म मतदान हुँदै छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अन्नपूर्ण स्काई लाइट हलमा थालिने गणनाको परिणाम ढिलोमा साँझ ७ बजेभित्र घोषणा गर्ने तयारी छ ।
मतदानका लागि ल्होत्से हलमा दायाँतर्फ संघीय संसद् र बायाँतर्फ प्रदेश सभाका लागि मतदान केन्द्र व्यवस्थापन छ । निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार तीन सय ३२ मतदाता रहेको संघीय संसद्को मतदान केन्द्रमा एउटा मतपेटिका राखिएको छ । पाँच सय ५० मतदाता रहेको प्रदेश सभातर्फ दुईवटा मतपेटिका राखिएको छ । निर्वाचनमा संघीय सांसदको एक मतबराबर ७९ र प्रदेश सभा सदस्यको एक मतबराबर ४८ मतभार कायम गरिएको छ । मतदान केन्द्रमा १४ जना कर्मचारी खटाइएको छ ।
राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङ र आठदलीय गठबन्धनबाट रामचन्द्र पौडेल उम्मेदवार छन् । निर्वाचन अधिकृत पौडेलका अनुसार उम्मेदवार निर्वाचित हुन कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्छ । ५० प्रतिशत कटाउन नसके पुनः निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।
मतदाताले सांसद निर्वाचित भएको प्रमाणपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र वा संघीय वा प्रदेश सभा सचिवालयले जारी गरेको परिचयपत्रका आधारमा मतदान गर्न पाउनेछन् । मतदान स्थलमा प्रज्वलनशील पदार्थ, हातहतियार, मोबाइल र क्यामेरा निषेध गरिएको छ । मतदानका लागि महिला र पुरुषको छुट्टै लाइनको व्यवस्था गरिएको छ ।
सम्पूर्ण तयारी पूरा भएको मतदानस्थलको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र उम्मेदवारका प्रतिनिधिद्वय रमेश लेखक र महेश बर्तौलाले निरीक्षणसमेत गरेका छन् ।
निर्वाचन अधिकृत पौडेलले निर्धारित समय ३ बजेभन्दा पछि छुटेका मतदातालाई मतदानमा सहभागी नगराइने बताए । ‘मतदान सकिएपछि मुचुल्का गरेर मतपेटिकालाई गणनास्थलमा लान्छौँ । ४ बजेदेखि गणना थाल्छौँ,’ उनले भने ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले साँझ ६ भित्रै परिणाम निकाल्ने गरी आवश्यक निर्देशन दिएको बताए । निर्वाचित हुने उम्मेदवारलाई आयोगले नै प्रमाणपत्र दिनुपर्ने कानुनी व्यवस्था रहेकाले परिणाम घोषणापछि साँझ नै प्रमाणपत्र प्रदान गरिने उनको भनाइ छ । ‘७ बजेसम्ममा आयोगमा प्रतिवेदन पठाउन भनिएको छ । प्रतिवेदन प्राप्त हुनासाथ बेलुका नै नवनिर्वाचित राष्ट्रपतिलाई आयोगले प्रमाणपत्र बुझाउने तयारी गरेको छ,’ उनले भने ।
प्रमुख आयुक्त थपलियाले निर्वाचनको प्रतिवेदन बुझाउन राष्ट्रपति विद्यादेवी भण्डारीसँग समय लिइसकिएको जानकारी दिए । ‘२६ गते ३ बजे प्रतिवेदन बुझाउने भनेर समय लिइसकेका छौँ । प्रतिवेदन बुझाएपछि शपथग्रहणको प्रक्रिया अगाडि बढ्छ,’ उनले भने, ‘हामीसँग सल्लाह भएअनुसार २९ गते सोमबार नयाँ राष्ट्रपतिको शपथग्रहण र निवर्तमान राष्ट्रपतिको बिदाइ हुन्छ ।’ वर्तमान राष्ट्रपति भण्डारीको पाँचवर्षे कार्यकाल २८ फागुनको राति १२ बजेदेखि सकिँदै छ ।
२५ फागुन २०७९, बिहीवार ०६:५८ बजे प्रकाशित






























