धनगढीको शिव शिखर सहकारी अनिश्चित समय सम्मका लागि बन्द, बचतकर्ता चिन्तित
कैलालीको धनगढीमा रहेको शिवशिखर बहुद्देश्यीय सहकारी संस्थाको कार्यालयमा मंगलबारदेखि ताला छ । शिवशिखर बहुद्देश्यीय सहकारी संस्थाको सुदूरपश्चिम प्रदेश कार्यालयले सूचना जारी गर्दै कार्यालय बन्द रहेको जानकारी दिएको छ ।

भक्तपुरमा केन्द्रीय कार्यालय रही देशका अधिकांश जिल्लामा सेवा विस्तार गरेको शिवशिखर सहकारीका सुदूरपश्चिम प्रदेश प्रमुख हेमराज जोशीले सेयरधनी र ग्राहकको रकम फिर्ता गर्न नसक्ने स्थिति भएपछि मंगलबारबाट धनगढी सेवा कार्यालय बन्द गरेको जानकारी दिए । “पुँजी व्यवस्थापन हुन नसक्दा तथा बजारको लगानी असुली नभएकाले केही दिनका लागि सेवा बन्द गरिएको छ,” जोशीद्वारा जारी सूचनामा उल्लेख छ । सबै बचतकर्ता एकैपटक चल्ती खाता, मुद्दती रकम र सेयर रकम झिक्न आउँदा पुँजी व्यस्थापन हुन नसकेको उनले बताए । सहकारी आर्थिक संकटमा परेको खबर सार्वजनिक भएपछि सहकारीका ग्राहकले धमाधम रकम झिक्न खोजिरहेका हुन् ।
कैलाली धनगढी उपमहानगरपलिाका –१४ स्याउले बजारका प्रकाश मल्लले सहकारीमा राखिएको बचत रकम फिर्ता माग्न गए पनि नगद सकिएको भन्दै फिर्ता पठाइएको बताए । “बचत गरेको रकम पनि फिर्ता नदिएपछि लगानी डुब्ने चिन्ता बढेको छ,” उनले भने ।
यता, सहकारीका सुदूरपश्चिम प्रदेश प्रमुख जोशीले भने अर्को सूचना जारी नभएसम्म कार्यालय बन्द रहने जानकारी दिए । “अर्को सूचना नआएसम्म तथा पुँजी व्यवस्थापन नभएसम्म कार्यालय बन्द रहने जानकारी गराउँदछौं,” जोशीद्वारा जारी सूचनामा उल्लेख छ ।
सोही सहकारीको डडेल्धुरा शाखाले स्थानीयबाट झण्डै ४१ करोड संकलन गरेको छ । सहकारीका शाखा व्यवस्थापक डम्मरराज पनेरुले दिएको जानकारीअनुसार जिल्लामा ३९ करोड ८ लाख निक्षेप संकलन गरेको शिवशिखरको सेयर पुँजी रकम १ करोड ७४ लाख रहेको छ । तर, सहकारीले २ करोड ४ लाख मात्रै ऋण लगानी गरेको छ । यस्तै सोही सहकारीले झण्डै ५ करोडको लागतमा गार्डेन मार्ट पनि सञ्चालन गरिरहेको छ भने सोही हाराहारीमा सहकारीको भवनमा लागत लागेको बताइएको छ ।
डोटीमा डडेलधुरा शाखाकै लगानीबाट शिवशिखर सहकारी सञ्चालन भइरहेको पनि शाखा व्यवस्थापक पनेरु बताउँछन् । तर, बजारबाट संकलन गरेको बाँकी रकमबारे भने जिल्ला शाखा नै अनभिज्ञ छ । सहकारी आर्थिक संकटमा परेपछि बचतकर्ता भने सशंकित छन् । दैनिक बचत, फिक्स बचतकर्तादेखि ठूलो रकम सेयर लगानी गरेका ग्राहकले आफ्नो लगानी डुब्न लागेको भन्दै रकम फिर्ता मागिरहेका छन् । तर, सहकारीको डडेलधुराको कार्यालयले कारोबार बन्द गरेको चार दिन बितेको छ । काउन्टर बन्द गरेर कार्यालय खुला राखेको डडेलधुरा शाखामा बचतकर्ताको भने भीड हुन्छ । दैनिकी मजदुरी गरेर जम्मा गरेको रकम फिर्ता दिन उनीहरू आग्रह गर्छन् । सहकारीका कर्मचारी भने नगद रकम नै नभएको भन्दै पन्छिरहेका छन् ।
२५ माघ २०७९, बुधवार ०८:३८ बजे प्रकाशित






























