नेपाली चेलीको शानदार कमब्याक- पहिलो खेलमा हार, अन्तिममा भारतलाई पराजित गर्दै फाइनलमा

काठमाडौं । नेपाली युवा महिला फुटबल टोलीले बंगलादेशमा आयोजना भइरहेको साफ यू(२० महिला च्याम्पियनसीपमा सुरुवात राम्रो गर्न सकेको थिएन ।
पहिलो खेलमा बंगलादेशसँग ३-१ गोलले पराजित भएपछि चार टोली मात्र सहभागी रहेको यस प्रतियोगितामा नेपालको उपाधि होड कमजोर बन्ने देखिएको थियो । तरपनि दोस्रो खेलमा भुटानलाई ४-० गोलले हराएर नेपालले फाइनल पुग्ने आशा कायमै राखेको थियो ।
आ-आफ्नो दोस्रो खेलमा भिडेका बंगलादेश र भारत बराबरीमा रोकिनु नेपालका लागि फाइदाजनक रह्यो । नेपाललाई अगाडि बढ्न अन्तिम खेलमा साविक विजेता भारतलाई हराउनैपर्ने दबाब थियो । मंगलबार भारतमाथि ३(१ गोलको जित निकालेर नेपाली चेलीले फाइनलमा स्थान सुरक्षित गरे ।
साफ यू-२० महिला च्याम्पियनसीप पहिलोपटक आयोजना भएको हो । यसअघि सन् २०१८ मा साफ यू-१८ च्याम्पियनसीप आयोजना भएको थियो । त्यतिबेला ६ टोली सहभागी रहेको भुटानमा आयोजित त्यस प्रतियोगितामा नेपालले भारतलाई सेमिफाइनलमा टाइब्रेकरमा हराएर फाइनल पुगेको थियो। यद्यपी उपाधि भिडन्तमा बंगलादेशसँग १-० गोलले पराजित भयो ।
त्यसपछि सन् २०२१ मा साफ यू-१९ महिला च्याम्पियनसीप आयोजना भएको थियो । बंगलादेशले आयोजना गरेको त्यस प्रतियोगितामा ५ टोली सहभागी थिए । पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको नेपाली टोलीले दोस्रो खेलमा श्रीलंकालाई ६-० गोलले हराएको थियो । तेस्रो खेलमा भुटानलाई पनि हराएको नेपाल अन्तिम खेलमा भारतसँग १-० गोलले पराजित भएर फाइनल पुग्न असफल बनेको थियो ।
गतवर्ष भारतमा आयोजना भएको साफ यू-१८ महिला च्याम्पियनसिप नेपालका लागि सुखद् रहन सकेन । तीन टोली मात्र सहभागी रहेको त्यस प्रतियोगितामा नेपालले भारत र बंगलादेश दुवैसँग २र२ खेल खेल्नुपर्ने थियो । तर नेपाली टोली चारवटै खेलमा पराजित भएर तेस्रो तथा अन्तिम स्थानमा सिमित बनेको थियो । नेपाल भारतसँगका खेलमा ७-० र ५-१ गोलले पराजित भएको थियो ।
नेपाली महिला टोलीले उमेरस्तर तथा सिनियरस्तरको अफिसियल अन्तर्राष्ट्रिय प्रतियोगितामा हालसम्म उपाधि जित्न सकेको छैन । साफ महिला च्याम्पियनसीपमा हालसम्म ६ पटक प्रतिस्पर्धा गरेकामा नेपाल सबैमा उपविजेतामा सिमित बनेको थियो ।
भारतीय टोलीले सुरुका पाँच संस्करण जितेपनि गत वर्ष भुटानमा आयोजित प्रतियोगिताको फाइनलमा भने बंगलादेशसँग हार व्यहोरेको थियो । मंगलबार सुरुवाती अग्रता भारतले लिएपनि नेपाल खेलमा फर्किएको थियो। अब हुने लिग चरणको अन्तिम खेलमा बंगलादेशले भुटानलाई हराएमा वा बराबरी खेलेमा भारत पहिलो चरणबाटै बाहिरिने छ।
२४ माघ २०७९, मंगलवार १८:२४ बजे प्रकाशित