धनगढीमा नागरिक उन्मुक्तिका सात सांसदसँग केन्द्रीय अध्यक्षको आकस्मिक बसाइ : सभामुख चयनमा फुक्ला त गाँठो
कैलाली । नागरिक उन्मुक्तिबाट निर्वाचित सुदूरपश्चिम प्रदेशका सात सांसद र केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठको बिचको छलफल सकिएको छ ।
उक्त छलफलमा नागरिक उन्मुक्ति पार्टी भित्रका अन्तरिक बिषय र सभामुख निर्वाचनमा पार्टीको आधिकारिक लाइनका बिषयमा छलफल भएको एक सांसदले जानकारी दिए ।सुदूरपश्चिम प्रदेशमा ३० गते नागरिक उन्मुक्ति पार्टीले पक्ष र विपक्ष कतै पनि मत नदिएपछि सभामुखमा माओवादी र कांग्रेसका दुबैका उम्मेदवारले बहुमत पाउन सकेका थिएनन् ।
यहाँ माओवादीबाट भीम भण्डारी र कांग्रेसबाट मानबहादुर रावल उम्मेदवार छन् । आज आफ्ना ७ सांसदलाई नागरिक उन्मुक्तिकी केन्द्रीय अध्यक्ष श्रेष्ठले सत्ता गठबन्धनमै मत दिन समेत निर्देशन दिएकी थिइन् ।
यस बिषयमा भोली पार्टीले आधिकारिक निर्णय गर्ने छ । पहिलो दिन सत्ता गठबन्धनकै एक मत बदर हुँदा सभामुख चयन भएको थिएन भने ३० गते नागरिक उन्मुक्ति मौन बस्दा कसैको बहुमत पुग्न सकेन । भोली बिहान १० बजे प्रदेश सभा बैठक बोलाइएको छ ।
केन्द्रीय अध्यक्षको निर्देशन मानेर सत्ता गठबन्धनलाई मत दिए माओवादीका भण्डारी भोली निर्वाचित हुने छन् ।तर, अहिले सम्म पनि नागरिक उन्मुक्ति पार्टी भित्र सभामुखलाई मत दिने बिषयमा मतान्तर वाकिनै रहेको छ ।केही सांसद सत्ता गठबन्धनलाई मत दिने मनसायमा छन् भने केही माग सम्बोधन नभएसम्म मौन बस्नु पर्ने बताइरहेका छन् ।यस बिषयमा आधिकारिक धारणा भोली बिहान गरिने संसदीय दलका नेता रामेश्वर चौधरीले बताए ।
२ माघ २०७९, सोमवार २१:१३ बजे प्रकाशित





























