माघी : मीठो खाने राम्रो लाउने दिन, थारू बस्तीमा राैनक
‘हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा
खुसियाली छ दाङमा, खुसियाली कञ्चनपुरमा
हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा’
यो गीतको हरफजस्तै सुदूरपश्चिमको कैलाली र कञ्चनपुरका थारू बस्ती यतिबेला माघी पर्वको रौनकले छपक्कै छोएको छ । हरेक वर्ष आउने थारू समुदायको प्रमुख पर्व माघी आफ्नै सुरुमा आउने र जाने गरेको इतिहास परापूर्वकालदेखि रहेको थारू अगुवाहरुको भनाइ छ । माघीलाई थारू समुदायको प्रमुख चाड मात्रै नभएर नयाँ वर्षका रुपमा समेत विविध रुपमा मनाउने गरिएको छ ।
थारू समुदायका गाउँबस्तीमा बालबालिकादेखि पाका पुस्तासम्म माघीकै रौनकमा रमेका छन् । माघीको अघिल्लो दिनदेखि सुरु हुने सप्ताहव्यापी योे पर्वमा थारू समुदायले विभिन्न खानाका परिकारलाई बढी जोड दिन कुटानीपिसानी गर्ने, नयाँ लत्ताकपडा किन्ने र गाउँघरको सरसफाइ गर्ने काम धमाधम गरिरहेका छन् ।
कञ्चनपुरका थारू अगुवा बलबहादुर डगौराले माघी पर्व पौराणिककालदेखि चलिआएको परम्परा भएको बताए । “यो पर्वमा थारूसँगै विगतमा सबैले नयाँ वर्षका रुपमा मनाउने गर्दर्थे”, उनले भने, “माघी सबैको नयाँ वर्ष भए पनि थारू समुदायले विशेष रुपमा मनाउने भएकाले थारूको मात्रै नयाँ वर्ष जस्तो हुँदैगयो ।” उनले यो बेला थारू समुदायभित्र युवा पुस्ता भने परम्परागत पर्वको शैली मनाउने तौरतरिकासित टाढिँदै गएकोप्रति चिन्ता व्यक्त गरे ।
“माघी पर्वसँगै कलासंस्कृति जगेर्ना हुने माध्यम पनि हो”, उनले भने, “यसमा परम्परागत पहिरनदेखि परिकारसम्मको प्रयोग हुन्छ ।”
माघीको दिन ९माघ १ गते० झिसमिसेमै उठेर नदी, जलाशयमा गई लोटामा सिक्का राखिएको पानीले नुहाउने र नुहाइसकेपछि सिक्का लुटाउने प्रचलन रहेको थारू अगुवा सीता चौधरीको भनाइ छ ।
त्यसैगरी थारूले माघी विशेष शुभकामना आदानप्रदान कार्यक्रमसमेत शुक्रबार यता गर्दै आएका छन् ।
३० पुस २०७९, शनिवार १७:५८ बजे प्रकाशित






























