गोदावरी नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीहरूको मिलेमतो, नदीजन्य पदार्थ उत्खननमा सुटुक्क टोकन
कैलाली । कैलालीको गोदावरी नगरपालिकाले नदीजन्य पदार्थ उत्खननमा मनोमानी गरेको आरोप लागेको छ ।
यसअघि करोडौँ राजश्व संकलन गर्दै आइरहेको खुटिया, गोदावरी र खैराना नदीबाट यसपटक नगरपालिका आफैंले नदीजन्य पदार्थ संकलन गरेर बिक्री गर्ने नीति लिएको थियो । आफैले नदीजन्य पदार्थ संकलन गरेर बिक्री गरेर बिक्री वितरण गर्दा अझै बढी मुनाफा हुने अपेक्षा गरिएका बेला नगरपालिकाको बदमासीले गर्दा राजश्व चुहावट हुने देखिएको छ ।
केही व्यक्ति र क्रसर उद्योगहरूलाई मनोमानी ढंगले आफैं टोकन बनाएर दिन थालेपछि स्थानीयले त्यसको विरोध गरेका छन् । नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूको मिलेमतोमा बिल बिना आफ्नालाई सुटुक्क टोकन दिएको हो । हामीले भेटाएपछि त्यसको विरोध गरेका हौँ’, एमाले गोदावरी नगर अध्यक्ष गोकर्ण भट्टले भने, ‘सार्वजनिक सम्पत्ति माथि अहिले गैरकानुनी रुपाले हालीमुहाली भइरहेको छ । ’

नगरपालिकाको प्रमुख आन्तरिक आम्दानीको स्रोत मानिएको नदीजन्य पदार्थ सङ्कलनमा खाली कागजको पानामा छाप लगाएर आफ्नालाई सुटुक्क कुप्पन दिएर मनपरी गर्दै आएको भेटेपछि अहिले स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत जानकारी गराइसकेका छन् ।
‘यो भ्रष्ट्राचार र गैरकानूनी काम हो’, उनले भने, ‘नगरपालिकाको प्रमुख आन्तरिक आम्दानीको स्रोतमा भइरहेको दोहन विरुद्ध हामीले अख्तियारलाई जानकारी गराएका छौँ ।’

यता नगरपालिकाले पनि यस विषयमा छानबिन गर्ने जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त कुमार खत्रीले अहिले खाली कागजमा देखिएका छापहरूका विषयमा छानबिन गर्ने बताए ।

उनले भने, ‘हामीसँग प्रत्येक दिन कति उत्खनन भइरहेको छ भन्ने अभिलेख हुन्छ तर, अहिले कागजको पानामा छाप लगाएर दिइएको कुप्पनबारे छानबिन गर्छौ ।’
उनले यसरी खाली कागजमा छाप लगाएर नदीजन्य पदार्थ उत्खनन गर्न दिनु गलत रहेको जनाए ।
१८ पुस २०७९, सोमवार १७:४० बजे प्रकाशित































