कैलालीमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ जना घाइते
कैलाली । कैलालीमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको गौरीगङ्गा नगरपालिका ६ बनबेहडामा भएको दुर्घटनामा परि लम्की–चुहा नगरपालिका वडा नम्बर १ की ७३ बर्षिया कर्मा प्याकुरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
कञ्चनपुरको महेन्द्रनगरबाट लम्की तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ज ४०६ नम्बरको हाइस दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा परि ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
दुर्घटनाका घाइतेहरूलाई सेती प्रादेशिक अस्पताल र माया मेट्रो अस्पतालमा उपचारका लागि पठाइएको छ ।
१६ पुस २०७९, शनिवार १३:०० बजे प्रकाशित































