सुदूरपश्चिममा आज माओवादीले दलको नेता छान्दै, सहमतिको सम्भावना क्षीण
कैलाली सुदूरपश्चिम प्रदेशमा आज माओवादी केन्द्रले संसदीय दलको नेता छनोट गर्ने तयारी गरेको छ । पहिलो चरणमा प्रदेश पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको छलफल र त्यसपछि मात्रै दलको बैठक बोलाइएको छ ।
बिहान ८ बजे धनगढीको एक होटेलमा प्रदेश पदाधिकारी तथा केन्द्रीय सदस्यको बैठक बस्ने र त्यसपछि १ बजे संसदीय दलको कार्यालयमा संसदीय दलको बैठक बस्ने छ ।
माओवादीमा सर्वसम्मत रुपमा दलको नेता छनोट गर्न सकस हुने संकेत देखिएको छ । अहिले सम्म खगराज भट्ट र ओमविक्रम भाटले दलको नेतामा दाबी गरेका छन् । भट्ट स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज हुन् भने भाट केन्द्रीय सदस्य हुन् । यी बाहेक अक्कल रावल र मानवबहादुर धामीले पनि पार्टी भित्र नेतामा दाबी गरिरहेका छन् ।
पछिल्लो केही दिन देखी दलको नेतामा सहमति गराउने प्रयास हुँदा पनि त्यो सफल नभएपछि आज निर्णायक सहमतिको प्रयास हुने छ । आज पनि सहमति जुट्न नसके निर्वाचन मार्फत दलको नेता छनोट हुने छन् । माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री पाउने सम्भावना बढि छ । माओवादी संसदीय दलको नेता नै मुख्यमन्त्री हुने भएको हुँदा माओवादीमा दलको नेता बन्न हानथाप छ ।
१६ पुस २०७९, शनिवार ०६:२७ बजे प्रकाशित































