विश्वकपः दक्षिण कोरियालाई हराउँदै ब्राजिल क्वार्टरफाइनलमा

दक्षिण कोरियालाई ४–१ गोलको नतिजमा पराजित गर्दै ब्राजिल कतारमा जारी फिफा विश्वकप २०२२ को क्वार्टरफाइनल प्रवेश गरेको छ ।

स्टेडियम नाइन फोर सेभेनमा सोमबार राति सम्पन्न अन्तिम १६ अन्तर्गतको खेलमा ब्राजिललाई जित दिलाउन भिनिसियस जुनियर, नेइमार, रिचार्लिसन र लुकास पाकेटाले गोल गरे ।

खेलको सातौं मिनेटमा भिनिसियसले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।त्यसको पाँच मिनेट नबित्दै नेइमारको गोलमा ब्राजिलले अग्रता दोब्बर पारेको थियो ।

दक्षिण कोरियाका मिडफिल्डर यु योङ जुङले १८ यार्ड बक्सभित्र रिचार्लिसनलाई फाउल गरेपछि ब्राजिलले पेनाल्टी पाएको थियो । सोहि पेनाल्टीलाई सदुपयोग गर्दै नेइमारले ब्राजिलको अग्रता दोब्बर पारे ।

एसियाली टिममाथि हावि भएको ब्राजिलका लागि २९औं मिनेटमा थिएगो सिल्भाको पासमा रिचार्लिसनले गोल गर्दै अग्रता ३–० बनाए ।

त्यसको सात मिनेट नबित्दै लुकास पाकेटाले ब्राजिलका लागि चौथोे गोल गरे । दक्षिण कोरियाका पेइक सिउङ होले ७६औं मिनेटमा एक गोल फर्काएका थिए ।

पहिलो हाफमा बनाएको अग्रतालाई खेलको अन्त्यसम्म कायम राख्दै ब्राजिलले सानदार जित निकाल्यो ।जितसँगै दक्षिण अमेरिकी टिमले सेमिफाइनल प्रवेशका लागि साविक उपविजेता क्राेएसियासँग प्रतिस्पर्धा गर्नेछ ।सर्वाधिक पाँच पटकको विश्वकप विजेता ब्राजिल २०१८ मा क्वार्टरफाइनलमा बेल्जियमसँग पराजित हुँदै बाहिरिएको थियो ।

सन् २००२ मा घरमै आयोजना भएको विश्वकपमा चौथो भएको दक्षिण कोरिया त्यसपछि २००६ मा दक्षिण अफ्रिकामा अन्तिम १६ बाटै बाहिरिएको थियो । त्यसपछिका दुई संस्करण समूह चरणबाटै बाहिरिएको दक्षिण कोरियाले यसपटक पनि अन्तिम १६ भन्दा माथियो यात्रा तय गर्न सकेन ।

 


२० मंसिर २०७९, मंगलवार ०७:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु