यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका मुद्दामा गम्भीर हुन आग्रह
यौनिक तथा लैङ्गिक अल्पसंख्याक समुदायका मुद्दामा राजनीतिक दलहरू लगायत सरोकारवाल निकायले गम्भीर हुन जोड दिएको छ । सोमबार धनगढीमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको महासंघ नेपालले गरेको राजनीतिक दल र स्थानीय सरकार लगायत सरोकारवालाहरुसंग भएको छलफल कार्यक्रममा यस्तो जोड दिएको हो ।
कार्यक्रममा अध्यक्ष पीङकी गुरुङले आफ्नो समुदायका व्यक्तिहरूले संविधानमा भएको अधिकार समेत पाउन नसकेको बताइन् । ‘कानुनमा प्रष्ट रूपमा अन्यका नाममा नागरिकता दिने व्यवस्था रहेको छ’, उनले भनिन् । ‘तर, सहजै कसैले पनि नागरिकता पाउन सकेको छैनन् ।’
उनले राजनीतिक दल भित्री आफ्नो समुदायका मुद्दा बारेमा छलफल गर्नुपर्ने बताइन् । दलहरूले आफ्ना मुद्धाहरु समावेश गर्न नसक्दा मुखमा आएको निर्वाचनमा उम्मेदवार दिनबाट वञ्चित भएको उनको गुनासो रहेको छ ।
राष्ट्रिय जनगणना २०७८ मा आफ्नो समुदायको तथ्याङ्क समेत सार्वजनिक हुन नसक्दा राज्यका विभिन्न निकायमा सहभागी हुनबाट वञ्चित हुने परेको कार्यक्रममा उनले गुनासो गरेकी थिइन् । आफ्नो समुदायका धेरै व्यक्तिहरू सरकारी जागिर खाने क्षमता हुँदा पनि लोकसेवाले अन्यका नाममा फारम दर्ता हुने व्यवस्था नहुँदा वञ्चित भएको उनले बताइन् । राज्यका उच्च निकायमा रहेका तथा बौद्धिक क्षेत्रका नागरिकहरूमा समेत यौनिक तथा लैङ्गिक अल्पसंख्याक समुदायलाई सम्मान गर्न नसेको उनले बताइन् ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरूले आफ्नो तहबाट यौनिक तथा लैङ्गिक अल्पसंख्याक समुदायका लागि पार्टीमा पहल गर्ने प्रतिबद्धता जनाएको थिए । नेपाली काँग्रेस कैलालीका युवा नेता ओमजंग सिंहले पार्टी बहस÷छलफल प्रतिबद्धता जनाए । उनले आफ्नो पार्टीमा युवाहरूको सहभागिता बढ्दै गएको हुँदा हरेक समुदायका मुद्दामा गम्भीर ढंगल लाग्ने बताए ।
उनले यौनिक तथा लैङ्गिक अल्पसंख्याक समुदायका व्यक्तिहरूका बारेमा ग्राणिण क्षेत्र सम्म बहस÷छलफल गर्न जरुरी भएको धारणा व्यक्त गरेका थिए । यस्तै कार्यक्रममा जनता समाज पार्टीका नेता झ्याउ कुला चौधरीले यौनिक तथा लैङ्गिक अल्पसंख्याक समुदाहरु देशको नेतृत्व लिने पार्टीको मुद्दा नबन्दा समस्या हुने गरेको बताए ।
आफ्नो पार्टीले पछाडि परेको समुदायको लडाईमा नै रहेको हुँदा हरेकका समस्याहरूमा गम्भीर ढङ्गले बहस हुने गरेको उनले बताए ।
कार्यक्रममा, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूका सहभागिता रहेको थियो ।
२१ कात्तिक २०७९, सोमवार २२:०८ बजे प्रकाशित






























