कालिकोटमा बम विष्फोट : एक जनाको मृत्यु, चार जना घाइते
कालिकोटको तिलागुफा नगरपालिका–१० रानाबाडाँमा बम विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । यस्तै चार जना घाइते भएका छन् । बम विस्फोटबाट स्थानीय ४ वर्षीय झरना थापाको मृत्यु भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए। उनका अनुसार शनिबार आज बिहान करिब ८ बजेको समयमा बम विस्फोट भएको हो।
यस्तै बम विष्फोटमा परी सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षीय मुश्कान थापा, ४ वर्षीय सरस्वती थापा र ३ वर्षीय पखना थापा घाइते भएको उनले बताए । ‘घाइतेहरूलाई गृह मन्त्रालयको पहलमा नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल सुर्खेतमा लगिएको छ,’ उनले भने,’ घाइते बालबालिकाको अवस्था गम्भीर नै छ। कस्तो खालको बम हो, कसले र किन राखेको हो भन्ने बारे अहिलेसम्म कुनै जानकारी समेत भएको छैन ।,’ यसबारे थप अनुसन्धान भइरहेको छ।
१२ कात्तिक २०७९, शनिवार १२:२८ बजे प्रकाशित






























