एसिया कप : समूह विजेता बन्दै भारत सुपर–फोरमा प्रवेश
भारत टी–२० एसिया कप क्रिकेटको सुपर–फोरमा प्रवेश गरेको छ । समूह ‘ए’ को खेलमा बुधबार राति हङकङलाई पराजित गर्दै भारत अन्तिम चारमा प्रवेश गरेको हो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा भारतले हङकङलाई ४० रनले पराजित गरेको हो । १९३ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १५२ रन मात्रै बनाउन सक्यो ।
हङकङका लागि बाबर हायतले ३५ बलमा तीन चौका र दुई छक्कासहित ४१ रन बनाए । किन्चित शाहले ३० र जिसान अलीले अविजित २६ रन बनाए । बलिङतर्फ भारतका भुवनेश्वर कुमार, अर्शदिप सिंह, रविन्द्र जडेजा र अभेष खानले समान १–१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा १९२ रन बनाएको थियो । भारतका लागि सूर्यकुमार यादव र विराट कोहलीले अर्धशतकीय पारी खेले । सूर्यकुमारले विष्फोटक ब्याटिङ गर्दै मात्र २६ बलमा ६ छक्का र ६ चौका प्रहार गर्दै अविजित ६८ रन बनाए ।
विराटले ४४ बलमा नटआउट ५९ रन जोडे । त्यस्तै, केएल राहुलले ३६ रन बनाउँदा कप्तान रोहित शर्मा २१ रनमा आउट भए । बलिङतर्फ हङकङका आयुष सुक्ला र मोहम्मद घजान्फरले समान १–१ विकेट लिए ।
भारत समूह विजेता बन्दै पुगिसकेकाले अब यो समूहबाट हङकङ र पाकिस्तानमध्ये एक टिमले सुपर–फोरमा स्थान बनाउने छ । समूह ‘बी’ बाट अफगानिस्तानले श्रीलंका र बंगलादेशलाई पराजित गर्दै सुपर–फोरमा यसअघि नै स्थान बनाइसकेको छ ।
१६ भदौ २०७९, बिहीवार ०८:२४ बजे प्रकाशित






























