अछाम युवक मृत्यु प्रकरण: ५ जना पक्राउ
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय किशोर विनोद शाही मृत भेटिएको घटनामा प्रहरीले हाल सम्म ५ जनालाई पक्राउ गरेको छ । मृतकका आफन्तले पञ्चदेवल विनायक नगरपालिकाका मेयर अम्बिका चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरीसमेत दर्ता गराइसकेका छन् ।
प्रहरीका अनुसार किटानी जाहेरी दर्ता भएका १३ मध्ये ५ जना पक्राउ परिसकेका छन् । प्रहरीले पक्राउ परेका पाँच जनाको नाम भने सार्वजनिक गरेको छैन । नगर प्रमुख चलाउनेको पनि खोजी भइरहेको र उनी फरार रहेको प्रहरी अधिकारीले बताएका छन् ।
गत जेठ १७ गते रातिदेखि बेपत्ता शाही २१ गते घर नजिकैको जङ्गलमा मृत फेला परेका थिए । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको विवादलाई लिएर युवकको हत्या भएको उनका आफन्तहरूले दाबी गर्दै आइरहेका छन् ।
प्रहरीले सुरुमा किटानी जाहेरी दर्ता गर्न आनाकानी गरेपछि विवाद उग्र बनेको थियो । आफन्तले उनीहरूविरुद्ध जाहेरी दर्ता नभएसम्म शव नउठाउने चेतावनी दिएका थिए । किटानी जाहेरी प्रहरीले दर्ता गर्ने भएपछि किशोरको शव ६ दिनपछि उठाइएको थियो । प्रहरीले मेयर चलाउनेसहित १३ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जीसमेत लिइसकेको छ ।
घटनाको अनुसन्धानका लागि वरिष्ठ प्रहरी उपरीक्षक जनकराज पाण्डे र सीआईबीका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्ट नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ ।
४ असार २०७९, शनिवार १९:२१ बजे प्रकाशित













