बैतडीमा भरुवा बन्दुकसहित २ जना पक्राउ
बैतडीमा भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन्। जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ४ मठैराजस्थित चौंसालको जंगलबाट प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दोगडाकेदार वडा नं ८ का ४० बर्षीय हिक्मतबहादुर बिष्ट र डिलाशैनी ४ का २१ बर्षीय राजेन्द्रबहादुर बिष्ट रहेका छन्। उनीहरुको साथबाट एकनाले दुईथान भरुवा बन्दुक, त्यसमा लाग्ने छर्रा र बारुद समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए।
यस्तै घोरलको जस्तो देखिने टाउको, घोरलको जस्तै देखिने दुई थान छाला र १५ केजी मासु पनि प्रहरीले बरामद गरेको छ ।
१८ जेठ २०७९, बुधवार १६:०१ बजे प्रकाशित












