punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भ्रष्टाचार अन्त्य गर्ने धनगढी उपमहानगरका मेयर उम्मेदवारहरूको साझा एजेण्डा

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढी उपमहानगरमा उम्मेदवारहरुको मुख्य एजेन्डा भ्रष्टाचार नगर्ने र हुन नदिने रहेका छन् । स्थानीय तहमा भ्रष्टाचार मौलाएपछि मतदाता आकर्षित गर्न भ्रष्टाचार अन्त्य गर्ने एजेन्डा प्राथमिकतामा राखेका छन् ।

सत्तारुढ गठबन्धनको घोषणापत्रमा ‘हामी भ्रष्टाचार गर्ने छैनौँ र गर्न दिने पनि छैनौँ’ भन्ने प्रण गरिएको छ । घोषणापत्र सार्वजनिक गर्दै गठबन्धनका तर्फबाट कांग्रेसका मेयरका उम्मेदवार नृपबहादुर वडले धनगढीको विकास र सुशासनलाई आफूले प्राथमिकता दिने बताए । वड दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा छन् । उनले धनगढीलाई महानगरपालिका बनाउने, खोलानालाको अतिक्रमण हटाउने, खोलानालाको छेउछाउमा साइकल लेन निर्माण गर्ने, लालपुर्जा वितरण गर्ने, पार्किङ स्थल र सार्वजनिक शौचालय निर्माणका योजनालाई प्राथमिकता दिएका छन् ।

यी एजेण्डा उनको अघिल्लो निर्वाचनका बेला पनि घोषणापत्रमा समेटिएका थिए । आफू मेयरमा निर्वाचित भएपछि धनगढीको क्याम्पस चोक, चौराहा र चटकपुरमा आकाशे पुल निर्माण, सबै वडामा कृषि हाटबजारको व्यवस्था, वडा नम्बर १५ र १६ मा औद्योगिक क्षेत्र स्थापना तथा धनगढीमा अत्याधुनिक टर्मिनलसहितको बसपार्क निर्माणलाई अगाडि बढाउने वडले बताए ।

सबै नागरिकलाई खानेपानीको सुविधा पुर्‍याउन ुएक घर एक धाराुको व्यवस्था गर्ने, धनगढीको ग्रामीण बस्ती उर्मालाई शहरी सुविधासम्पन्न र सबैले गर्व गर्न लायक नमुना बस्ती बनाउने, वडा नम्बर १४, १८ र १९ मा टाउन प्लानिङ सुरु गर्ने योजना पनि गठबन्धनका उम्मेदवार वडले अघि सारेका छन् ।

एमालेका उम्मेदवार रणबहादुर चन्दले पनि भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने प्रतिबद्धता अघि सारेका छन् । नगर क्षेत्रमा बढी आवागमन हुने प्रत्येक सडकलाई कालोपत्रे गर्ने, व्यवस्थित बसपार्क र बजारमा पार्किङ स्थलहरू निर्माण गर्ने, विपन्नका घरमा निःशुल्क विद्युतीकरणसँगै खानेपानी सुविधा पुर्‍याउने आफ्नो योजना रहेको चन्दको भनाइ छ ।

‘भ्रष्टाचार हुन नदिनु मेरो पहिलो काम हुनेछु, चन्दले भने, ‘धनगढीमा जनताले विकासको अनुभूति गर्न पाएनन् । अब म आएपछि विकासले गति लिनेछ । ‘मुख्य सडकमा रहेका विद्युतीय तारलाई भूमिगत गर्ने, प्रत्येक वडामा एउटा नमुना प्राविधिक विद्यालय बनाउने, ग्रामीण क्षेत्रमा पर्ने उर्मा र फूलबारीमा १५ शय्याको अस्पताल बनाउने योजना उनले अघि सारेका छन् ।किसानको सुविधाका लागि कृषक परिचयपत्र दिने, सडक तथा अन्य आवश्यक स्थानमा सौर्यबत्ती जडान गर्ने, एक वडा एक खेल मैदान निर्माणलाई पनि आफू मेयरमा निर्वाचित भएपछि अगाडि बढाउने उनले बताए । भौतिक र मानवीय विकास गरेर धनगढीलाई सुन्दर र समृद्ध नगर बनाउने आफ्नो योजना रहेको उनको भनाइ छ ।

धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले गठबन्धन र एमालेका उम्मेदवारलाई टक्कर दिँदैछन् । मेयरमा निर्वाचित भएपछि विकासमा ‘धनगढी मोडेल’ स्थापित गर्ने र भ्रष्टाचार हुन नदिने संकल्पसहित हमालले मत मागिरहेका छन् । नगरमा भ्रष्टाचार नगर्ने र भ्रष्टाचार हुन नदिने एजेण्डालाई उनले मुख्य प्राथमिकताका साथ अघि सारेका छन् । धनगढीको मेयरमा आफू निर्वाचित भए आफूले उपमहानगरबाट पाउने कुनै पनि सेवा सुविधा नलिने र गाडी समेत नचढ्ने घोषणा गरेका छन् ।

‘स्थानीय तहमा हुने भ्रष्टाचार रोक्न र धनगढीलाई नमुना शहरको रूपमा विकास गर्न मैले उम्मेदवारी दिएको हुँ’, हमालले भने, ‘स्थानीय तहमा जनप्रतिनिधिले आफ्ना कार्यकर्ता पोस्ने काम मात्र गरे, भ्रष्टाचार बढ्यो नगरको विकास हुन सकेन ।’

घरघरै गएर सामाजिक सुरक्षाभत्ता वितरणको व्यवस्था मिलाउने, फोहोरमैला व्यवस्थापनमा वैज्ञानिक विधि अपनाउने, वृक्षारोपण गरेर धनगढीलाई सुन्दर र हराभरा बनाउने, पार्किङ र खेलमैदानको व्यवस्था गर्ने, खोलानालाको अतिक्रमण हटाएर साइकल लेन निर्माण गर्नेजस्ता विकासका योजना हमालले अघि सारेका छन् ।

०७४ को निर्वाचनमा धनगढीमा कांग्रेसका वड, स्वतन्त्रबाट हमाल, माओवादीबाट रामसमझ राना र नेकपा एमालेका दुर्गा जोशीबीच प्रतिस्पर्धा भएको थियो । सो निर्वाचनमा वड मेयरमा विजयी भएका थिए । स्वतन्त्र उम्मेदवार हमाल दोस्रो, माओवादीका राना तेस्रो र एमालेका जोशी चौथो भएका थिए । वडले १४ हजार ३ सय २४, हमालले ११ हजार ५ सय २७, रानाले १० हजार २ सय ९ मत ल्याएका थिए । यद्यपि माओवादीका राना चुनावको केही समयपछि कांग्रेसमा प्रवेश गरेका थिए ।

एमालेका उम्मेदवार जोशीले ९ हजार ९ सय ४६ मत प्राप्त गरेका थिए । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुबहादुर साहुले ८ सय २९, तत्कालीन मधेसी जनाधिकार फोरमका उम्मेदवार प्रेमकुमार बिसीले ४ सय ५९ र जनमोर्चाका कृष्णप्रसाद चौधरीले २ सय ३६ मत प्राप्त गरेका थिए ।

यसपटक धनगढीको मेयरमा ९ र उपमेयरमा ६ जनाबीच प्रतिस्पर्धा हुँदैछ । वड, चन्द र हमालसँगै जनता समाजवादी पार्टीका कविन्द्र ऐर, लोकतान्त्रिक समाजवादीका सन्तबहादुर विश्वकर्मा, सचेत पार्टी नेपालका भारती थापा, नागरिक उन्मुक्ति पार्टीका निमकुमार चौधरी पनि मेयरको प्रतिस्पर्धामा छन् । स्वतन्त्रबाट हमालसहित उद्धवराज पन्त पनि मैदानमा छन् । स्वतन्त्र उम्मेदवारी दिएका मदनकृष्ण भट्टले भने वडलाई समर्थन गरेका छन् ।

यस्तै, उपप्रमुखमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी शान्तिकुमारी अधिकारी, एमालेका कन्दकला राना थारु, विवेकशील साझा पार्टीका विमला पन्त, नागरिक उन्मुक्ति पार्टीका सावित्रीदेवी चौधरी र राप्रपाका दुर्गादत्त पन्त मैदानमा छन् । उपमेयरमा कांग्रेस नेता प्रभाकर भण्डारीले बागी दिएका छन् ।


२७ वैशाख २०७९, मंगलवार २१:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु