punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा सुरक्षा व्यवस्थापन चुस्त

Chaupati
safha napa

स्थानीय तहको चुनावलाई शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न कैलाली जिल्लामा सुरक्षा व्यवस्थापन चुस्त र सुदृढ बनाइएको छ। स्थानीय तह निर्वाचन एकीकृत जिल्ला सुरक्षा योजनाबमोजिम जिल्लाको भौगोलिक विकटताका साथै सडक सञ्जाल र सञ्चारको असुविधालाई समेत आधार मानेर ठाउँअनुसार निर्वाचन सुरक्षा योजना कार्यान्वयन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए।

भारतसँगको खुला सीमाका कारण कुनै अवाञ्छित एवं अपराधिक गतिविधि हुन नपाओस् भनेर सीमा क्षेत्रमा सुरक्षा व्यवस्था मिलाइएको छ। भारतको लखिमपुर खिरी जिल्ला र नेपालको कैलाली र कञ्चनपुरका स्थानीय प्रशान प्रमुखको कैलालीको गोदावरीमा केही दिनअघि भएको सीमा समन्वय बैठकमा निर्वाचनका बेला सीमा हुने सक्ने अवाञ्छित एवं अपराधिक गतिविधि रोक्ने सहमति भएको थियो।

बैठकमा मतदानको ४८ घण्टाअघिदेखि सीमानाकामा आवागमन बन्द गर्ने सहमतिसमेत दुवै देशका अधिकारीबीच भएको छ।

उम्मेदवार, निर्वाचन खटिने कर्मचारीका साथै निर्वाचनस्थल र वरिपरिको सुरक्षामा विशेष ध्यान दिइएको छ। निर्वाचनमा प्रत्यासीबीचको प्रतिस्पर्धाका क्रममा हुनसक्ने अवाञ्छित र अमर्यादित गतिविधि हुन नदिन पनि विशेषरूपमा ध्यान दिइएको छ।

यसका लागि आवश्यकताअनुसार सुरक्षा गस्ती बढाउन लागिएको छ। निर्वाचन प्रयोजनका लागि जिल्लामा कायम गरिएका कूल २३६ मतदानस्थलमध्ये ५२ मतदानस्थललाई अति संवेदनशील, ५३ मतदानस्थललाई संवेदनशील र बाँकी १३१ मतदानस्थललाई सामान्य मतदानस्थलको सूचीमा रोखर सोहीबमोजिमको सुरक्षा व्यवस्थापन गर्न लागिएको छ । यी मतदानस्थलमा ६१९मतदान केन्द्र कायम गरिएको छ।

निर्वाचनको सुरक्षाका लागि मतदानस्थलको बाहिरी घेरामा नेपाली सेना, मध्यम घेरामा सशस्त्र प्रहरी बल र भित्री घेरामा नेपाल प्रहरीलाई परिचालन गर्न लागिएको छ। यसका लागि मतदान हुनुभन्दा पहिलेको समय, मतदानको समय र मतदानपछिको समय गरी तीन चरणको सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ थापाले बताए।

निर्वाचनको सुरक्षाका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन गर्न लागिएको छ। यसका लागि जिल्लामा हालै दुई हजार ४०० भन्दा बढी म्यादी प्रहरीसमेत भर्ना गरिएको छ। निर्वाचन गराउन निजामती सेवाका र संस्थानका कर्मचारीको खटनपटन गर्ने काम भइरहेको छ। अपुग हुने अवस्था देखिएमा शिक्षकलाई समेत निर्वाचनमा खटाउन लागिएको छ।

निर्वाचनको तयारी धमाधम भइरहेको छ। प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रमुख प्रेमराज भट्टले निर्वाचनको तयारी तीव्र पारिएको जानकारी दिए। “निर्वाचन सम्पन्न गराउन निर्वाचन अधिकृतलगायतलाई तालिम दिइसकिएको छ ।” उनले भने, “गर्नुपर्ने अन्य सबै तयारी तीव्ररूपमा भइरहेको छ।”

कैलाली जिल्लामा १३ पालिका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका हो। जिल्लामा पाँच लाख २५ हजार १२५ मतदाता पुगेका छन्। यीमध्ये दुई लाख ५६ हजार १०४ पुरुष र दुई लाख ६९ हजार १० महिला मतदाता छन् अघिल्लो स्थानीय तहको निर्वाचनमा जिल्लामा चार लाख तीन हजार २८० मतदाता रहेकोमा गएको पाँच वर्षमा जिल्लामा एक लाख २१ हजार ८४५ मतदाता थपिएका छन्।

 


१५ वैशाख २०७९, बिहीवार ०८:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु