मध्यरातमा फिल्म चलाउने सिनेमा हललाई कारबाही गर्न चलचित्र विकास बोर्डको सिफारिस

चलचित्र विकास बोर्डले तीनवटा चलचित्र हललाई कारबाहीका लागि सिफारिस गरेको छ । अनुमति नलिई तोकिएको समयभन्दा बढी हल खोलेको भन्दै बोर्डले कारबाहीका लागि सिफारिस गरेको हो ।

बोर्डले बिग मुभिज, एफक्युज, बीएसआर मुभिजलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय र आन्तरिक राजश्व कार्यालयलाई सिफारिस गरेको हो । बोर्डका अध्यक्ष दयाराम दाहालले मध्यरातमा अनुमति नलिई शो चलाउने तीनवटा हललाई कारबाहीका लागि सिफारिस गरिएको बताए ।

तीनै हलले मध्यरातमा साउथ इन्डियन चलचित्र ‘केजीएफ च्याप्टर-२’ चलाएका थिए । तोकिएको भन्दा शो थप्न चाहेको खण्डमा चलचित्र विकास बोर्डबाट पूर्वस्वीकृति लिनुपर्छ । तर, उनीहरूले अनुमति नै नलिई हल सञ्चालनमा ल्याएका हुन् ।

केजीएफ च्याप्टर-२ हेर्ने दर्शकको अत्यधिक भीड भएपछि ती हलले राति १ बजे र ३ बजेका लागि शो थप गरेका थिए । अनुमतिबिना हल सञ्चालन गरेका उनीहरूले तोकिएकोभन्दा बढी टिकट शुल्क लिएका थिए । टिकटमा शुल्कसमेत उल्लेख नभएको पाइएको छ ।

 


२ वैशाख २०७९, शुक्रवार १८:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु