नसर्ने रोगको रोकथाम र नियन्त्रणमा सबैको समन्वय र सहकार्य आवश्यक : मन्त्री खतिवडा
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले नसर्ने रोगको रोकथाम र नियन्त्रणमा सबै पक्षको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्।
स्वास्थ्य मन्त्रालयमा बिहीबार आयोजित ‘नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना’ सार्वजनिक गर्दै मन्त्री खतिवडाले सबैको सहयोगले नसर्ने रोगको रोकथाम र नियन्त्रण गर्न सकिने उल्लेख गरे। कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गरेर सबै नागरिकलाई स्वस्थ्य बनाइने उनले बताए।
मन्त्री खतिवडाले नसर्ने रोगबाट उत्पन्न परिस्थितिलाई सम्बोधन गर्नका लागि बहुपक्षीय समन्वय तथा सहकार्य आवश्यक रहेको धारणा राखे । ‘सबै नीतिको मूलप्रवाहमा नसर्ने रोगका विषयलाई सापेक्ष बनाई स्थानीयस्तरसम्म प्रभावकारी कार्यान्वयन गर्न आवश्यक छ’, उनले भने । नसर्ने रोग दिनानुदिन बढ्दै गएको र यसको मुख्य कारण जलवायु परिवर्तन, अखाद्य पदार्थको प्रयोग, निष्क्रिय जीवनशैली, लागुऔषधलगायत रहेको उनको भनाइ थियो ।
स्वास्थ्य सचिव डा रोशन पोखरेलले कार्ययोजनालाई प्रादेशिक र स्थानीय तहमा कार्यान्वयन गर्नतर्फ मन्त्रालयले ध्यान दिने बताए ।
२४ चैत २०७८, बिहीवार १२:३३ बजे प्रकाशित













