३६ लाखका गहना कोहलपुर पुगेपछि ७ लाखको मात्रै
धनगढीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणअन्तर्गतको टोलीले बरामद गरेको ३६ लाख रुपैयाँ बढीको सुनचाँदी राजस्व अनुसन्धान कार्यालय कोहलपुर पठाएपछि त्यसको मूल्य ७ लाख भएको छ ।
गणका एसपी धनबहादुर सिंहका अनुसार गणअन्तर्गत बीओपी त्रिनगर र बेओपी डोके बजारको टोलीले ३ दिनअघि भारतसँगको सीमा नाका त्रिनगरबाट बेवारिसे अवस्थामा सुनचाँदीका गरगहना बरामद गरेको थियो । तर सुन ल्याउने व्यक्ति भने पक्राउ परेका थिएनन् ।
बरामद भएका गरगहनाको गणले धनगढीस्थित सुनचाँदी व्यवसायीमार्फत परीक्षण गराउँदा ४३१ ग्राम सुन र २०७ ग्राम चाँदी सक्कली भएको बताएको थियो । उक्त परिमाणका गरगहनाको बजार मूल्य ३६ लाख ८ हजार ३९० हुन आउने प्रहरीको भनाइ थियो ।
सोहीअनुसार मुचुल्का गरी सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा उक्त गरगहना नेपालगन्ज राजस्व अनुसन्धान कार्यालय पठाइएको थियो । तर दोस्रो दिन बरामद गरगहनाहरू राजस्व अनुसन्धान कार्यालय कोहलपुर पठाएर चेकजाँच गर्दा भने बरामद गरगहनाको मूल्य ७ लाख मात्रै भएको छ । अन्य गहना नक्कली भएको सशस्त्र प्रहरीको भनाइ छ ।
१९ चैत २०७८, शनिवार १४:०३ बजे प्रकाशित






























