punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढी उपमहानगरमा काँग्रेस र एमालेका आकाँक्षी को को ?

Chaupati
safha napa

सुदूरपश्चिमको एकमात्र उपमहानगर धनगढीको मेयरको टिकटका लागि कांग्रेस र एमालेका नेताहरुले लबिङ शुरु गरेका छन् । कांग्रेसमा मेयरको टिकटका लागि ३ जनाबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । एमालेमा २ जनाले खुलेरै टिकट माग गरेका छन् भने अन्य २ जना आफ्नो पक्षमा माहोल बनाउने आन्तरिक प्रयासमा व्यस्त छन् । सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तह निर्वाचनको मिति घोषणा गरेपनि माओवादी लगायतका पार्टीले सुदूरपश्चिममा खासै तयारी गरेका छैनन् । उपमहानगरमा गोपाल हमालले स्वतन्त्र उम्मेदवारी घोषणा गरेर प्रचारप्रसार शुरु गरेपछि अरु आकाँक्षीहरु पनि मैदानमा उत्रिन हतार गरिरहेका छन् । तर उनीहरुको पार्टीले टिकटको टुङ्गो लगाउन भने अझै उक महिनाभन्दा बढी कुर्नु पर्ने देखिन्छ ।

हमालको उम्मेदवारी घोषणासँगै सुदूरपश्चिमको राजधानी शहर धनगढीमा चुनावी माहौल तातेको छ । प्रदेशका सबै ८८ वटा स्थानीय तहमा निर्वाचन आयोगले निर्वाचन केन्द्रित कार्यक्रम अगाडि बढाएपछि प्रतिस्पर्धाको लागि नेताहरू आन्तरिक लबिङमा जुट्न थालेका छन् ।
उपमहानगरपालिकाको नेतृत्वको लागि काँग्रेसबाट संस्थापन पक्षका तीन जनाको नाम चर्चामा छ । उपमहानगरका वर्तमान मेयर नृपबहादुर वड, उपमेयर सुशिला मिश्र भट्ट र नेता कृष्णबहादुर महरा कांग्रेसमा आकाँक्षी देखिएका छन् ।

२०७४ को निर्वाचनमा वड स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई २ हजार ७ सय मतले पराजित गर्दै विजयी भएका थिए । उनले अझै एक कार्यकाल दोहो¥याउन पाउनुपर्ने भन्दै सार्वजनिक रूपमै लबिङ सुरु गरेका छन् ।
यता व्यवसायी तथा काँग्रेस नेता महराले पनि मेयरमा आकांक्षा व्यक्त गरिसकेका छन् । २०७४ को निर्वाचनमा पनि उनले टिकट पाउने निकै चर्चा थियो । काँग्रेसका तत्कालिन नेता पुष्करनाथ ओझा लगायतले मेयरमा महरालाई लडाउन केन्द्रमा लविङ गरेका थिए । अघिल्लोपटक आकांक्षा राख्दा पनि मेयरको टिकट नपाएका कारण यसपटक महराले पाउने सम्भावना बलियो रहेको काँग्रेस कैलालीभित्र चर्चा छ ।

धनगढीकी उपमेयर भट्टले स्पष्ट रुपमा उपमेयरमा नदोहरिने बताइसकेकी छिन् । उनले मेयर वा प्रदेशसभाको टिकटका लागि लविङ सुरु गरेकी छिन् । काँग्रेसले नगरपालिका र उपमहानगरपालिकामा उम्मेदवारको टुंगो लगाउने जिम्मा सुदूरपश्चिम प्रदेश समितिलाई दिएको छ । तर प्रदेश समितिले केन्द्रको निर्देशनअनुसार नै उम्मेदवार तय गर्नेमा काँग्रेसका नेता–कार्यकर्ता स्पष्ट छन् ।
नेकपा एमालेमा उपमहानगरको मेयरको टिकटका लागि २ जनाबीच प्रतिस्पर्धा देखिएपनि भित्रभित्रै अरुले पनि गृहकार्य गरिरहेका छन् । २०७४ सालमा मेयरको चुनाव लडेर तेश्रो स्थानमा चित्त बुझाउन बाध्य हाल जिल्ला कमिटीका उपाध्यक्ष दुर्गा जोशी र हालै सम्पन्न जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा चुनाव हारेका रणबहादुर चन्दले धनगढीको मेयरमा दाबी प्रस्तुत गरेका छन् ।
तर दुवैजनालाई टिकट पाउन भने सजिलो छैन । केही दिनअघिमात्रै निर्वाचन प्रकृयामार्फत सम्पन्न भएको जिल्ला नेतृत्वको छनौटका बेला देखिएको आन्त्रिक तुषले यी दुवै नेताका लागि उपमहानगरको कुर्सीमा दाबी गर्ने आधार कमजोर बनाएको छ ।

आन्तरिक निर्वाचनमा छताछुल्ल भएको तिक्तताको असर टिकट वितरणमा देखिने प्रष्ट छ । टिकटका सशक्त दाबेदार जोशी र चन्दलाई प्रतिस्पर्धी देखाएर सहमतिको वातावरण निर्माणको रणनीति अपनाइ तेश्रो व्यक्तिले टिकट पाउने सम्भावना एमालेमा बढी छ । यस्तो अवस्थामा धनगढीका पूर्वमेयर खेमराज पाण्डे वा धर्मराज पाठकले टिकट पाउनसक्ने सम्भावना बढी छ ।

 


२६ फागुन २०७८, बिहीवार ११:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु