पेस्तोल र ब्राउन सुगरसहित तीन युवा पक्राउ
पेस्तोल र ब्राउन सुगरसहित तीन जना युवालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ। खजुरा गाउँपालिका वडा नम्बर १ स्थित प्रहरी चौकी राधापुरका प्रमुख प्रहरी नायब निरीक्षक रवीन्द्र बमको नेतृत्वमा खटिएको टोलीले आइतबार ९० ग्राम ब्राउन सुगर र एक थान अत्याधुनिक स्वचालित पेस्तोलसहित तीन युवालाई पक्राउ गरेको हो।
उनीहरूलाई खजुरा गाउँपालिका वडा नम्बर १ स्थित रवीन्द्र थापाको घरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
सेतो प्लास्टिकमा बेरेर राखेको ९० ग्राम ब्राउन सुगर र घरमा लुकाइराखेको अवस्थामा स्वचालित पेस्तोलसहित सोही घरका २५ वर्षीय रवीन्द्र थापा, खजुरा २ का २७ वर्षका मनिष थापा र नेपालजञ्ज १३ का २८ वर्षका सुरेश रोकालाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरूलाई ब्राउन सुगर सेवन गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीको दाबी छ। उनीहरूलाई कानुनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ।
२३ फागुन २०७८, सोमवार ०७:५७ बजे प्रकाशित































