विराटनगरमा नक्कली भारतीय नोटसहित ३ जना पक्राउ
विराटनगरबाट नक्कली भारतीय नोटसहित ३ जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ। पक्राउ पर्ने तीनै जना भारतीय नागरिक हुन्। प्रहरीले भारत पूर्णीया ग्रामपञ्चायतका ३४ वर्षीय राजु गुप्ता, मधुवनीका ३५ वर्षीय चन्दनकुमार ठाकुर र २२ वर्षीय मोहमद महसुनलाई पक्राउ गरेको हो। उनीहरुलाई इलाका प्रहरी कार्यालय रानीले अनुसन्धान एवं कारबाहीको थप प्रक्रिया अघि बढाएको छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मञ्जील मुकारुङका अनुसार पक्राउ परेकाहरुको साथबाट नक्कली ४ हजार ८ सय भारतीय रूपैयाँ बरामद भएको छ। मुकारुङले १ सय दरका ४८ वटा नक्कली भारतीय नोट भेटिएपछि टेम्पोमा सवार रहेका तीनै जनालाई विराटनगर महानगरपालिका–१३ नहर चोकबाट पक्राउ गरिएको जानकारी दिए।
१३ फागुन २०७८, शुक्रवार १४:४५ बजे प्रकाशित






























