सुदूरपश्चिमलाई हराउँदै टी २० क्रिकेटमा एपीएफले निकाल्यो लगातार दोस्रो जित
ललितपुर मेयर महिला टी २० क्रिकेट च्याम्पियनसिपअन्तर्गत बुधबार दिउँसो सम्पन्न खेलमा विभागीय टिम एपीएफले जित निकालेको छ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सम्पन्न भएको खेलमा एपीएफले सुदूरपश्चिमविरुद्ध ६ विकेटको जित निकालेको हो।
सुदूरपश्चिमले दिएको ९१ रनको लक्ष्य पछ्याएको पीएएफले १६.५ ओभरमै लक्ष्य पूरा गर्दै जित निकालेको थियो। एपीएफलाई जित दिलाउन रोमा थापाले सर्वाधिक २३ रनको योगदान दिइन्।
लक्ष्य पछ्याउने क्रममा उसले चार विकेट गुमायो। जहाँ ज्योती पाण्डेले ११, इन्दु बर्माले १०, सरिता मगरले ९ बनाए। खेलमा ममता चौधरीले १४ रनका साथ अविजित रहिन्।
सुदूरपश्चिमका लागि इश्वरी विष्टले दुई तथा रितु कनोजियाले समान १–१ विकेट लिए। बाँकी दुई खेलाडी रनआउट भए।
टस जितेर ब्याटिङ राजेको सुदूरपश्चिमले निर्धारित २० ओभर खेल्दै सबै विकेट गुमाएर ८९ रन बनाएको थियो। सुदूरपश्चिमका लागि कविता कुँवरले सबैभन्दा धेरै १८ रन बनाइन्। त्यस्तै, डली भट्टले ११ रनको योगदान दिइन्।
११ फागुन २०७८, बुधवार १३:४१ बजे प्रकाशित






























