आइसिसी पुरुष टी-२० विश्वकप: पहिलो खेलमा नेपालले ओमानको सामना गर्दै

आइसिसी पुरुष टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आज आयोजक ओमानको सामना गर्दैछ । खेल अल अमरेत क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान पौने १२ देखि सुरु हुनेछ । दुवै टोली आज जित निकाल्दै सुखद सुरुआत गर्ने लक्ष्यका साथ मैदान उत्रिने छन् । हालसम्म मात्र दुई टी-२० अन्तर्राष्ट्रिय एकअर्काको सामना गर्दा नेपाल र ओमान समान एकरएक खेलमा विजयी भएका छन् ।

सन् २०१९ को त्रिकोणात्मक सिरिजअन्तर्गत भएको खेलमा ओमान ६ विकेटले विजयी हुँदा भर्खरै सम्पन्न चार देशीय सिरिजअन्तर्गतको खेलमा नेपालले ६ विकटकै जित निकालेको थियो । ग्लोबल छनोट ‘ए’ मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी छन् । छनोटका खेल २४ फेब्रुअरीसम्म चल्नेछ ।समूह ‘ए’ मा नेपाल, क्यानडा,फिलिपिन्स र ओमान तथा समूह ‘बी’ मा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी छन् ।

नेपालले दोस्रो खेल फिलिपिन्सविरुद्ध अल अमरेत क्रिकेट मैदानमा १९ फेब्रुअरी र समूह चरणको तेस्रो तथा अन्तिम खेल २१ फेब्रुअरीमा क्यानडाविरुद्ध ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा खेल्नेछ।समूह चरणपछि दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनल खेल २२ फेब्रुअरीमा हुनेछन् । फाइनल २४ फेब्रुअरीमा ओमान क्रिकेट एकेडेमी मैदानमा हुनेछ । फाइनल प्रवेश गर्ने दुई टोलीले अस्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने टी-२० विश्वकप खेल्ने छन् ।


६ फागुन २०७८, शुक्रवार ०९:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु