एमसीसी टुंगो लगाउन गठबन्धनको बैठक आज पनि बस्दै
सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक आज पनि बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजे बैठक बस्ने तय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्मा टेबल गर्नेरनगर्ने विषयमा निर्णय हुनेछ। त्योसँगै गठबन्धनको भविष्य पनि तय हुने भएकाले आजको बैठक ‘निर्णायक’ मानिएको छ।
यसअघि, बिहीबार बसेको बैठक बिना निष्कर्ष सकिएको थियो। नेताहरू आफ्नो अडानबाट पछि नहटेपछि बैठक निष्कर्षविहीन भएको हो। बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी संसद्मा टेबल गरेरै संसदीय प्रक्रियाबाट टुंगो लगाउनुपर्नेमा जोड दिएका थिए।
जवाफमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिले संसद् विनाअवरोध सञ्चालन हुनुपर्ने अडान राखेका थिए। संसद्को गतिरोध अन्त्य नभएसम्म एमसीसी टेबल हुन नसक्ने माओवादीको अडान छ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले शनिबारसम्म कुर्न आग्रह गरेका थिए।
६ फागुन २०७८, शुक्रवार ०८:५६ बजे प्रकाशित












