असई हुँ भन्दै हिँडेको आरोपमा एक पक्राउ
नक्कली प्रहरी सहायक निरीक्षक (असई) हुँ भन्दै हिँडेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। महनगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौं महानगरपालिका-२८ भद्रकालीस्थित चेकपोइन्टबाट एक जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
बुधबार बिहान भक्तपुर सूर्यविनायक नगरपालिका-८ डोलेश्वर घर बताउने २६ वर्षीय सोनाम तामाङलाई पक्राउ गरेको हो। उनले चेकिङमा खटिएका प्रहरी जवान लालुप्रसाद यादवलाई आफू प्रहरी सहायक निरीक्षकको परिचय दिएका थिए।
तर प्रहरी जवान यादवलाई शंका लागेर चेक गरेको थियो। उनीबाट प्रहरीले प्रहरी सहायक निरीक्षकको दर्ज्यानी समेत लगाएको पोशाक र आठ वटा पासपोर्ट साइजका फोटो समेत फेला पारेको छ। उनीमाथि प्रहरी वृत्त सिंहदरबारले थप अनुसन्धान गरिरहेको छ।
१९ माघ २०७८, बुधवार १९:४९ बजे प्रकाशित































