दार्चुला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा
जिल्ला अस्पताल दार्चुलामा अक्सिजन प्लान्ट सञ्चालमा आएको छ । यस अघि बिजुली नहुँदा जिल्ला अस्पतालमा लामो समयदेखि अक्सिजन प्लान्ट सञ्चालनमा आउन सकेको थिएन ।कोरोना भाइरसको सङ्क्रमणका समयमा अक्सिजन प्लान्टको महशुस गरी गत हप्तादेखि सो प्लान्ट स्थापना गरिएको अस्पताल स्रोतले जनाएको छ ।
जिल्ला अस्पताल दार्चुलाका प्रमुख डाक्टर आर्दश लिम्बुले सुदुरपश्चिम प्रदेश सरकारले छुट्याएको बजेट अनुसार अस्पतालले उक्त प्लान्ट जडान गरेको जानकारी दिए । अक्सिजन प्लान्ट जडानपछि अबदेखि अक्सिजनको अभाव नहुने बताए ।
उनले भने,‘हिजोका दिनसम्म यहाँ अक्सिजनको अभाव थियो । हामी ग्याँस भर्न टाढा जानुपर्दथ्यो । अहिले हामी प्लान्ट जडान गर्न सफल भएका छौं, यो हाम्रो लागि खुशीको कुरा हो । अब अक्सिजन अभावको कारण यहाँका जनताले कुनै हैरानी र सास्ती व्यहोर्नुपर्दैन ।
हाम्रो अस्पताललाई त सजिलो भयो, अक्सिजन जडानले दार्चुलाका नागरिकको जीवन रक्षाको सहयोग पुगेको भन्दै उनले यसको लागि विशेष पहल गरिदिने र बजेट छुट्टयाईदिने दार्चुलाबाट निर्वार्चित प्रदेश सांसद देखि लिएर केन्द्रका सांसद मन्त्रीहरुलाई विशेष धन्यवाद समेत ज्ञापन गरेका छन् ।
जिल्ला अस्पताल दार्चुलामा दैनिक ४० लिटर क्षमताको ४०–५० वटा सिलिन्डर अक्सिजन ग्यास भर्न सक्ने क्षमताको अक्सिजन प्लान्ट जडान गरिएको हो । अब प्लान्ट र मेसिन सन्चालनका लागि पर्याप्त विद्युत आपूर्तिको आवश्यक भएकोले सोको लागि नियमित विद्युत आपूर्तिमा ध्यान दिन सम्बन्धित सबैमा लिम्बुले आग्रह गरेका छन् ।
१९ माघ २०७८, बुधवार १५:५७ बजे प्रकाशित































