केही दिनयता धुम्मिएको मौसम आजदेखि केही सुधार हुने
केही दिनयता धुम्मिएको मौसम आजदेखि केही सुधार हुने मौसमविद्ले बताएका छन् । न्यून चापीय प्रणालीको प्रभाव हिजोदेखि नै कम हुन थालेको र आजदेखि थप सुधार हुँदै जाने मौसमविद् वरुण पौडेलले जानकारी दिए ।
उनका अनुसार मौसम पूर्णरुपमा खुल्न भने केही दिन लाग्नेछ । पानी परेपछि मात्रै मौसम पूर्णरुपमा खुल्ने भए पनि तत्काल पानी पर्ने सम्भावना नदेखिएको उनको भनाइ छ। काठमाण्डौसहित देशका धेरै ठाउँमा आज, हिजो अस्तिको तुलनामा अलि बढी समय घाम लाग्नेछ ।
तराईमा हुस्सु र कुहिरो कायमै छ । तर केही क्षेत्रमा हुस्सु कुहिरो पनि बिस्तारै हटेर दिउँसो घाम लाग्ने मौसमविद् पौडेलले बताए । केही दिनयता राम्ररी घाम नलाग्दा देशभरको मौसम धुम्मिएकाले चिसो बढेको छ ।
१५ माघ २०७८, शनिवार ०८:४७ बजे प्रकाशित






























