बझाङमा डेढ महिनादेखि अन्धकार : बिजुली नहुँदा सञ्चार सम्पर्कविहीन
बाढीले क्षति पुर्याएका आयोजनाको मर्मत नहुँदा बझाङका गाउँ डेढ महिनादेखि अन्धकार बनेका छन् ।खप्तडछान्ना गाउँपालिका-१ का गोठखोला, खातिगाउँ, मायापाटा, डाँडागाउँ र खेदावाडागाउँ बिजुली नहुँदा डेढ महिनादेखि अन्धकार बनेका हुन् ।
गएको कार्तिक १ गते जडारीगाड खोलामा आएको बाढीले २१ किलोवाट क्षमताको लघु जलविद्युत् आयोजनाको नहर, विद्युत् गृह र पोल बगाएपछि २ सय ६५ परिवार अन्धकारमा बस्न बाध्य भएका हुन् ।
आयोजना २०६५ सालमा डेढ करोड रुपैयाँभन्दा बढीको लागतमा निर्माण गरिएको थियो । त्यस्तै जडारीगाड दोस्रो लघु जलविद्युत् आयोजनाको अवस्था पनि उस्तै छ । बाढीले आयोजनाको नहर र विद्युत् गृहमा क्षति भएपछि ५२ किलोवाट क्षमताको यो विद्युत् गृह बन्द छ ।
थलारा गाउँपालिका-९ का राउली, लिस्ताडा, खानी, सिरेटा, चित्रु, फकाली, मालुमेला, अफ्ला बगर, आमबगर र सेलाबगरका ४ सय ९६ परिवार अन्धकारमा छन् । यो लघु जलविद्युत् २ करोड रुपैयाँ लागतमा निर्माण भएर २०७५ सालदेखि सञ्चालनमा आएको थियो ।
ती गाउँमा सञ्चालन भएका मिल बन्द हुँदा कुटानी पिसानीका लागि दिनभरि हिँडेर अर्को गाउँ पुग्नुपर्ने बाध्यता छ । उद्योग, वडा कार्यालय, विद्यालय, सहकारी, स्वास्थ्य संस्थाको सेवा पनि प्रभावित भएको छ । बिजुली नहुँदा सञ्चार सेवा समेत ठप्प भएको जलविद्युत् आयोजना व्यवस्थापन समितिका अध्यक्ष देविभक्त जोशीले बताए ।
खप्तडछान्ना र थलारा मात्रै नभएर बझाङका ५० वटा भन्दा धेरै लघु आयोजनामा क्षति हुँदा ११ वटा गाउँपालिकाका एक सयभन्दा धेरै गाउँ अन्धकारमा रहेको तर अहिलेसम्म मर्मतको पहल नभएको स्थानीय बासिन्दाको गुनासो छ ।
क्षतिको यकिन विवरण नआएको निमित्त प्रमुख जिल्ला अधिकारी विष्णु सुवेदीले बताए । केही आयोजना स्थानीय बासिन्दा आफैँले मर्मत गरेर अस्थायी रुपमा सञ्चालनमा ल्याएका छन् । बझाङमा रहेका लघु जलविद्युत् हेर्ने वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको प्रदेश कार्यालय तीन महिनादेखि कर्मचारीविहीन छ । उज्यालोबाट
२१ मंसिर २०७८, मंगलवार ११:१० बजे प्रकाशित













