कांग्रेस अधिवेशन : जिल्लामै रोकिए पूर्वमन्त्री र पार्टी सभापति
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बैतडीमा अधिवेशन सम्पन्न भएको छ। यहाँको नयाँ नेतृत्व र महाधिवेशन प्रतिनिधिहरू निर्वाचनमार्फत चयन भएका हुन्।
शुक्रबार सार्वजनिक मतपरिणामअनुसार यहाँका कांग्रेसका पुराना नेताहरु पराजित भएका छन्। पूर्व-वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द र पूर्व पार्टी सचेतक विनयध्वज चन्द महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्।
वैचारिक र बौद्धिक नेताका रुपमा गनिने नरबहादुर चन्द विगतमा शेरबहादुर देउवा पक्षका नेताको रुपमा रहेका थिए। तर, योपालि सो समूहले महाधिवेशन प्रतिनिधिमा ठाउँ नदिएपछि उनी बिना प्यानल चुनावी मैदानमा होमिएका थिए। चन्दले जम्मा २४० मत मात्रै प्राप्त गरे।
यस्तै, पार्टीका पूर्व मुख्य सचेतक विनयध्वज चन्द पनि पराजित भएका छन्। बिपी विचार राष्ट्रिय समाजका महासचिवसमेत रहेका चन्द दुई पटक बैतडीबाट सांसदमा निर्वाचित भएका थिए। उनी भट्ट प्यानलबाट महाधिवेशन प्रतिनिधिमा उम्मेद्वार बनेका थिए। उनी ५१५ मत ल्याएर पराजित भएका छन्।
यस्तै, कांग्रेस बैतडीका पूर्व पार्टी सभापति नरेन्द्र विष्ट पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।कांग्रेसका पुराना नेता एवं बौद्धिक नेताहरूलाई यो अधिवेशनबाट छनोट नहुनु दुखद भएको नेपाल विद्यार्थी संघ बैतडीका अध्यक्ष तथा नवनिर्वाचित महाधिवेशन प्रतिनिधि कपिल केशीले बताए।
‘पुराना नेताहरु आउनुपर्ने हो तर आउन सक्नुभएन, यो दुखद हो’ उनले भने, ‘ बौद्धिक र पुराना नेता अटाउन सक्नुपर्थ्यो तर नअटाउँदा निराश नभएर पार्टीलाई एकताबद्ध भएर लैजान सहयोग गर्नुपर्दछ।’
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बैतडीमा २६ जना महाधिवेशन प्रतिनिधिहरु छनोट भएका हुन्। अन्तिम परिणामबाट जिल्लामा २६ जना महाधिवेशन प्रतिनिधि छनोट भएका जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिए। बैतडीमा महाधिवेशन प्रतिनिधिमा पनि नवनिर्वाचित सभापति चतुरबहादुर चन्द समूहकै वर्चस्व रहेको छ।
कुल २६ जना महाधिवेशन प्रतिनिधिमध्ये १६ जना चन्द समूहबाट विजयी भएका छन्। यस्तै, शिवराज भट्ट समूहबाट १० जना मात्रै विजयी भएका हुन्।
खुला महाधिवेशन प्रतिनिधिबाट निर्वाचित हुनेहरुमा चन्द समूहबाट दिनेशप्रसाद भट्ट ९६१३०, लोकराज अवस्थी ९५५३०, दिनेशबहादुर चन्द ९५४७० र नरेन्द्रसिंह थापा ९५२१० रहेका छन्। यस्तै भट्ट समूहबाट केशवबहादुर चन्द ९६२२०, हरिमोहन भण्डारी ९५८१०, उत्तरबहादुर ऐर ९५६३०, कर्णसिंह साउँद ९५४९०, दीपकबहादुर बम ९५४४० र कृष्णसिंह नायक ९५२३० विजयी भएका छन्।
खुला महिला सदस्यमा चारैजना चन्द समूहबाट विजयी भएका छन्। पुनम पाल बम ९५४८०, जानकी भट्ट ९५१४०, तुलसी ठगुन्ना ९५०१० र मीना चन्द ९४९२० मत ल्याएर विजयी भएका छन्।
यस्तै, खस आर्य पुरुषतर्फ चन्द समूहका ३ जना र भट्ट समूहका २ जना विजयी भएका छन्। चन्द समूहबाट दिपेन्द्र बम९६०६०, सुरेन्द्रसिंह ऐर ९५०६० र नरेन्द्रप्रसाद भट्ट ९५००० मत ल्याएर विजयी भएका छन्। यस्तै, भट्ट समूहबाट तेजबहादुर चन्द ९५४३० र कपील केसी ९५२५ ० मत ल्याएर विजयी भएका छन्।
यस्तै, खस आर्य महिला तर्फ भट्ट समूहका २ जना र चन्द समूहका २ जना विजयी भएका छन्। भट्ट समूहका कान्ता चन्द शाही ९६०१० र सरस्वती कोली ९५६२० मत ल्याएर विजयी भएका छन्। यस्तै, चन्द समूहबाट कौशिला चन्द ९६२५० र लक्ष्मी शाह चन्द ९५४७० मत ल्याएर विजयी भएका छन्।
यस्तै अपांगताबाट चन्द समूहकै ईश्वरीदत्त भट्ट ६०८ मत ल्याएर विजयी भए भने दलित समूहबाट चन्द समूहकै सुरत पार्की ६२७ मत ल्याएर विजयी भए।
आदीवासी जनजातिबाट चन्द समूहकै किरणकुमार राई निर्विरोध निर्वाचित भएका छन्। यसअघि जिल्ला पदाधिकारीमा एकजना उपसभापति बाहेक सबै पदमा चन्द समूह विजयी भएको छ। बैतडीमा १ हजार ४ सय २ जना प्रतिनिधि मध्ये १ हजार ३४८ जना नयाँ नेतृत्व चयनमा सहभागी भएका थिए।
१० मंसिर २०७८, शुक्रवार १५:१५ बजे प्रकाशित













