डडेल्धुरा कांग्रेसले सानेपामा सुरू गर्यो अनसन
नेपाली कांग्रेस डडेल्धुराका नेता तथा कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि अनसन सुरू गरेका छन्।
नाराबाजी गर्दै उनीहरूले अनसन सुरू गरेका हुन्। सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका असन्तुष्ट कांग्रेस नेता कार्यकर्ताले रिले अनसन सुरू गरेका हुन्।
नेविसंघ नेता भुवन भट्टलगायत २१ जना अनसन बसेका छन्।
हटाइएका क्रियाशील सदस्यता कायम गर्नुपर्ने माग उनीहरूको छ। अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्यता खारेज हुनुपर्ने पनि उनीहरूको माग छ।
यस्तै वडा तथा पालिका अधिवेशन एकलौटीरूपमा सभापति देउवा पक्षले गरेकोले त्यो बदर हुनुपर्ने माग उनीहरूको छ। सबैको सहमतिमा वडा तथा पालिका अधिवेशन गर्न उनीहरूले माग गरेका छन्।
गत भदौ २५ मा डडेल्धुरामा जिल्ला सभापति कर्णबहादुर मल्ललगायतको विरोधबीच वडा अधिवेशन भएको थियो। अनसनका लागि जिल्लाका नेताहरू पार्टी कार्यालयमा आएका छन्।
उपसभापति करूणाकर भट्ट, नेविसंघ पूर्वअध्यक्ष केशव सिंह, महाधिवेशन प्रतिनिधि हरि भट्टलगायत पनि रिले अनशनका लागि पार्टी कार्यालय आएका छन्।
१ मंसिर २०७८, बुधवार १६:३६ बजे प्रकाशित































