punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका पहाडमा जात्राको रौनक सुरू

Chaupati
safha napa

तिहार सकिएसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक सुरु भएको छ। बैतडीसहित दार्चुला, डडेल्धुरालगायतका जिल्लामा कार्तिक शुक्ल पक्षसँगै जात्राको रौनक सुरु भएको हो।

भाइटीकाको दिनदेखि सुरु भई कार्तिक शुक्ल पूर्णिमासम्म विभिन्न मठमन्दिरहरुमा जात्रा लाग्ने गर्दछ। बैतडीका प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिर, बाह्र ज्योर्तिलिङ्गमध्येको केदारनाथ भनेर चिनिने रौलाकेदार मन्दिर, मेलौली भगवती मन्दिर, सुर्नयास्थित भवानी मन्दिर, शिवनाथ मन्दिर, महारुद्र मन्दिर, पुर्चौडीस्थित त्रिवणीधाम (राताशीला) मन्दिर, दोगडाकेदारमा रहेको भिटाकेदार मन्दिरमा जात्रा लाग्ने गर्दछ।

त्रिपुरासुन्दरी भगवती मन्दिर, रौलाकेदार, शिवनाथ, महारुद्र लगायतका मन्दिरमा कार्तिक शुक्ल अष्टमीका दिन, भिटाकेदार मन्दिरमा शुक्ल नवमीका दिन मेला लाग्ने गर्दछ। मेलौली भगवती, भवानी मन्दिर, उग्रतारा लगायतका मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ।

दार्चुलामा रहेको मालिकार्जुन धाम, लटिनाथ लगायतका मन्दिरमा जात्रा लाग्ने गर्दछ। यहाँ कार्तिक शुक्ल चतुर्दर्शीका दिन जात्रा लाग्ने गर्दछ। डडेल्धुराको उग्रतारा र भागेश्वर लगायतका मन्दिरमा कार्तिक शुक्ल पक्षमै मेला लाग्ने गर्दछ।

परापूर्वकालदेखि नै कार्तिक शुक्ल पक्षमा देवीदेवताहरुको पूजाआजा गर्ने चलन रही आएको संस्कृतिका जानकार जयानन्द भट्टले बताए। शरद ऋतु देवीदेवताहरुको पूजाआजा गर्ने समय भएकाले सुदूरपहाडका विभिन्न जिल्लाका शक्तिपीठहरुमा जात्रा लाग्ने गरेको छ ।

जात्रामा टाढाटाढाका श्रद्धालुहरु आउने गरेको गंगासागर जोशीले बताए। भाइटीकाको दिनदेखि सुरु भई करिब १५ दिनसम्म विभिन्न ठाउँमा रहेका देवस्थलहरुमा लाग्ने जात्राको ऐतिहासिक एवं धार्मिक महत्वका साथै आफन्त एवं इष्टमित्रसंग भेटघाट गर्ने अवसरका रुपमा लिने गरिन्छ।

देशका अन्य भागका साथै यो क्षेत्रमा नवरात्रीको बेला मन्दिरहरुमा पूजाआजा हुने भए पनि कार्तिक शुक्ल पक्षमा समेत धेरै जात्रा तथा मेला हुने गरेका छन्। स्थानीय भाषामा गुटे नवरात्र भनेर कार्तिक शुक्ल पक्षलाई लिइने गरिएको पण्डित दयाकृष्ण पन्तले जानकारी दिए।

विभिन्न मन्दिरहरुमा रात्री जात्रा सुरु भएसंगै चहलपहल बढेको छ। यहाँका जात्रामा सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेको छन्। जात्रामा सहभागी हुनका लागि बसाइँसराइ गरेर गएकाहरु समेत गाउँमा फर्किएकाले चहलपहल बढेको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटका गणेश विष्टले बताए।


२३ कात्तिक २०७८, मंगलवार १३:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु