punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नियम विपरित नदी किनारमा क्रसर उद्योग, वनमा संकलन केन्द्र

Chaupati
safha napa

धनगढी उपमहानगरपालिका भित्रै रहेको खुटिया नदी किनारमा नियम विपरित क्रसर उद्योग संचालनमा ल्याएको छ । धनगढी उपमहानगरपालिकाको वडा नम्बर १५ को कनरी नदी पुलको उत्तरतिर नियम विपरित क्रसर उद्योग संचालनमा ल्याइएको हो ।

धनगढीको क्याम्पसचोकदेखि कटैनीसम्म हुलाकी सडक खण्ड निर्माणको ठेक्का पाएको जोशी कन्स्ट्रक्सनले यसरी नदीमा मोबाइल क्रसर उद्योग सञ्चालन गरेको हो।

नदी, मानव बस्ती, वनजंगलमा नदीजन्य पदार्थहरू संकलन गर्न पाइदैन । ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ अनुसार घना बस्ती र वन क्षेत्रको दुई किलोमिटर, राजमार्गको पाँच सय मिटर दुरी भित्रको नदी, सडक पुल तथा झोलुङ्गे पुलको एक किलोमिटर तल र पाँच सय मिटर माथि नदीजन्य पदार्थ उत्खनन तथा संकलन गर्न नपाइने व्यवस्था छ ।

कनरी नदीको उक्त क्रसर उद्योग नदी किनारमा मात्रै होइन, पुल, वन, बस्ती नजिक पर्छ ।

मापदण्ड अनुसार स्थानीय तहले वातावरणीय अध्ययन प्रतिवेदन तयारी गरी संकलन, उत्खनन स्वीकृत गर्ने, गराउने तथा नदी, खोला र खहरेमा बाढी पहिरोका कारणले ढुङ्गा, गिट्टी र माटोजन्य पदार्थ थुप्रिन गई सोको कारणले बस्ती तथा भौतिक संरचनामा जोखिम उत्पन्न भएको वा हुन सक्ने अवस्था सिर्जना भइ प्राविधिक टोलीको सिफारिसका आधारमा जिल्ला विपद् व्यवस्थापन समितिको अनुमति लिनुपर्ने छ ।

सो कन्स्ट्रक्सन कम्पनीले वडा नम्बर ७ स्थित सिद्धनाथ सामुदायिक वनभित्र ढुङ्गा, बालुवा, गिट्टी संकलन केन्द्रसमेत बनाएको छ ।

निर्माण कम्पनीका इन्चार्ज गोपाल भट्टले भने सामुदायिक वनको सहमतिमा नदीजन्य पदार्थ संकलन गरेको र क्रसरका लागि स्थानीय तहबाट सहमति लिएको बताए । उनले उपमहानगरपालिकाबाट तीन वर्षका लागि सहमति लिएको बताए । उनले नियमअनुसार नै क्रसर सञ्चालन गरिएको दाबी गरे ।

अहिले नदीजन्य पदार्थ उत्खनन तथा संकलन कार्यको नियन्त्रण र व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई दिइएको छ ।

‘विकास निर्माण कार्यमा नदीजन्य तथा खानीजन्य पदार्थको अभाव हुन नदिई सहज आपूर्ति गर्न र यस्ता निर्माण सामग्रीको अनियन्त्रित दोहनलाई निरुत्साहन गरी दीगो उपयोग गर्न र राजश्व संकलनलाई व्यवस्थित गर्ने अधिकार स्थानीय तहको रहने छ’ मापदण्डमा उल्लेख छ । तर स्थानीय तहले भने बेवास्ता गरेको छ ।

सो क्रसर उद्योगलाई नियन्त्रण गर्ने जिम्मा पाएको धनगढी उपमहानगरपालिकाले भने राष्ट्रिय गौरवको आयोजनाबाट क्रसर सञ्चालन भएको भन्दै पन्छिएको छ ।

उपमहानगरपालिकाका बरिष्ठ लेखा अधिकृत डिल्लीराज ओझाले क्रसर उद्योग सञ्चालनका लागि वडा कार्यालयबाट सहमती लिएको हुनुपर्ने बताए । यद्यपि उनले क्रसरले पुर्याउने क्षतिबारे ध्यान नदिइएको स्वीकारे ।

नदीजन्य पदार्थको अनुगमनको जिम्मेवारी पाएको जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाले तिहार लगत्तै नदीजन्य पदार्थको अनुगमन गरिने बताए । उनले अहिले जथाभावी नदीजन्य पदार्थ उत्खनन भइरहेको बताए ।


१२ कात्तिक २०७८, शुक्रवार ०९:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु