Hotel Flora Long Ad

बाढीपीडितको गुहार, ‘बरु राहत चाहिँदैन, डुबान रोकिदेउ’

बेमौसमी वर्षासंगै कर्णाली नदीमा आएको बाढीले घरबाट विस्थापित भएका कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ८ सत्ती वनगाउँका धनीराम चौधरी नजिकैको सडकमा भेटिए । संगै गोरु, बंगुर र डलब पनि सडकमै थिए । सत्ती–राजापुर सडकमा घरमा रहेको बाढीले भिजाएको अन्न सुकाउँदै थिए उनी । खेतमा काटेर भित्र्याउन लागिएको धान भने बचाउन सकेका थिएनन् उनले । घरमा भएको अन्न पनि भिजाएपछि सडकमा सुकाइरहेका थिए ।

घर नजिकै दुई विगाह १५ कट्टा जमिनमा लगाएको धानको एक बालो पनि उनले पाउन सकेनन् । आँखै अगाडि धान बाढीमा बग्यो । समात्न सकेनन्, हेरिरहे । बल्लतल्ल ज्यान जोगाए । घर डुब्न लागेपछि परिवारलाई सडक नजिकैको छिमेकीको अग्लो घरमा पुर्याए भने आफू घरमा भएको बचाउन सकिने सामान लिए घरतिर लागे । उल्टो राभतर घरमै फसे । घरमा भएको पाँच क्वीन्टल धान र चार क्वीन्टल गहुँ पनि बचाउन सकेनन् । राति बाढी कम भएपछि रित्तो हात छिमेकीको घरसम्म पुग्नसके । जहाँ उनको परिवारसहित सात घरका मानिसहरु ओत लागे । ‘बाढी आउने भएपनि यस्तो क्षति यसअघि कहिल्यै भएको थिएन,’ उनी भन्छन्, ‘कर्णालीको बाँध फुटेपछि बाढी गाउँ पस्यो अनि हाम्रो विचल्ली भयो ।’

यसअघिका वर्षहरुमा धान बच्ने उनी यस वर्ष भने उनको घर रित्तो भएको छ । गत वर्ष मात्रै उनले ४० क्वीन्टल धान बचेको बताए । ‘गत वर्ष करिब एक लाख रुपैयाँ बराबरको ४० क्वीन्टल धान बेचेका थियौं,’ उनी भन्छन्, ‘किनौं भनेपनि पाउने अवस्था छैन । किन्ने पैसा पनि कहाँबाट ल्याउने ?’ यस वर्ष मजदुरी गरेर खानुपर्ने अवस्था आएको उनको भनाई छ । यस वर्ष धान किनेर पनि नपाउने अवस्था भएको भन्दै उनी चिन्तित छन् ।

सोही ठाउँका बालकृष्ण चौधरीको पीडा पनि त्यो भन्दा कम छैन । बाढीले घरसमेत डुबाएपछि उनको आठ जनाको परिवार पनि छिमकैकै घरमा ओत लाग्न पुग्यो । अहिलेसम्म पनि उनको घर बस्न लायक बनिसकेको छैन । घर हिलोमै छ । घरमा बसेको भिजेको अन्न, गोरु, बंगुरलगायत सडकमै थिए । काटेर सुकाउन राखिएको साढे दुई विगाहमा लगाएको धान पनि नरहेपछि अहिले उनी पनि पीडामा छन् । उनको परिवार पनि ठूलो छ । अब उनलाई के गरेर परिवार पाल्ने भन्ने चिन्ता छ ।

६ विगाहको सबै धान बाढीमै बगेपछि विचल्लीमा परेका सोही ठाउँका रामजी चौधरीको पीडा पनि सुनिसक्नु छैन । सिजनमा एक लाख मूल्य भन्दा बढीको धान बेच्दै आएका उनलाई यस वर्ष के खाने भन्ने चिन्ता छ । उनको घरमै ल्याएर थुपारिएको धान पनि बाढीले बगायो । उनका अनुसार हुलाकी सडक नभत्किएर पानी अर्कोतर्फ पास नभएको भए ठूलो मानवीय क्षति समेत हुने सक्ने थियो । ‘बाढीले भौतिक क्षति भएपनि ज्यान बचेको छ, अब खान चाहियो,’ उनी भन्छन्, ‘पहिले वर्षेनि एक लाख रुपैयाँ भन्दा बढीको धान बेचिन्थ्यो, अब किनेर पनि पाउन सकिने स्थिति छैन ।’

कर्णाली नदीले पूर्ण रुपमा डुबानमा परेर धानबाली सखाप पारेको सत्ती क्षेत्रका बासिन्दाको यो साझा समस्या हो । खेतको धान भित्र्याउन त पाएनन् नै घर भित्रको धान गहुँ पनि केही बग्यो र केही भिज्यो । वर्षेनि बाढीले मानवीय तथा भौतिक क्षति बेहोनुपर्ने समस्याको समाधान गर्नुपर्ने स्थानीयको माग छ । स्थानीयले सरकारको राहत भन्दा पनि कर्णाली नदीले फुटाएको बाँध पुनः निर्माण गर्नुपर्ने बताएका छन् । ‘हामीलाई सरकारले त अहिले राहत देला, तर भोलि पनि हामीले यही समस्यासंग जुझ्नुपर्छ,’ स्थानीय रामजी चौधरीले भने, ‘बरु हामीलाई राहत चाहिँदैन, गाउँ खेतमा बाढी नपस्ने वातावरण बनाइदिए पुग्छ ।’ यहाँका सबै बासिन्दाको पीडा र माग एउटै भएकाले सरकारले यसतर्फ ध्यान दिनुपर्ने उनीहरुको माग छ ।

बाढीले धानबालीमा क्षति गरेपछि केही दिन पहिले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि त्यस क्षेत्रको निरीक्षण गरेका थिए । तर उनीहरुलाई कहाँ कसरी निरीक्षण गरियो र केही पाइने भने भन्ने थाहा छैन । ‘प्रधानमन्त्री आए भन्ने सुकेका हौं,’ स्थानीय बालकृष्णले भने, ‘आएर १० मिनेट पनि बसेनन् रे । हामीलाई राहत दिएर पनि काम छैन । डुबानको समस्या पूर्णरुपमा अन्त्य गरिदिए पुग्छ ।’

दुई जिल्लामा तीन अर्ब बढीको क्षति
बेमौसमी वर्षाले कैलाली र कञ्चनपुरमा तीन अर्ब बढीको धानबालीमा क्षति पुगेको आँकलन गरिएको छ । वर्षाले सुदूरपश्चिम प्रदेशका दुईवटै जिल्लामा गरेर करिब ५५ प्रतिशतसम्म धानबालीमा क्षति पु¥याएको सुदूरपश्चिम कृषि निर्देशनालय प्रमुख यज्ञराज जोशीले जानकारी दिए ।

बेमौसमी वर्षाले गर्दा कैलालीमा ३० प्रतिशत र कञ्चनपुरमा २५ प्रतिशतको हाराहारीमा धानबालीमा क्षति भएको उनले बताए । निर्देशक जोशीले प्रदेशभरको तथ्यांक भने प्राप्त भइनसकेको बताए ।

‘वर्षाले धानबालीमा पुर्याएको क्षतिको लगत संकलनका लागि कर्मचारीहरु खटिएका छन्,’ उनले भने, ‘दुई÷चार दिनमा रिजल्ट प्रदेशभरको क्षतिको विवरण आउँछ ।’ धानबालीमा क्षति पुगेपछि यस वर्ष भारतबाट गत वर्षको भन्दा चामल आयात बढ्ने उनको भनाई छ ।

 

 


९ कात्तिक २०७८, मंगलवार २०:१५ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु