punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

…जसरी तिम्रो प्रेमिल चुम्बनले आशक्त बनाउँछ

Chaupati
safha napa

प्रिय,
यो रात्रीकालिन स्थिर समयको एक छेउमा उभिएर तिमीलाई सम्बोधन गर्दैछुु। निलो आकाश मुनि खेलि हिंड्ने काला बादल जस्तै मडारिन्छन तिम्रा यादहरु।

गर्दै नगरेको अपराधको सजाय भोगिरहेको निर्दोष कैदीजस्तो, यो कहरको एक कैदी भएकी छु म । यो घरलाई घेरिरहेको सामान्य पर्खाल पनि, अचेल जेलको काँडेतारजडित अग्लो तारबारजस्तो अविजीत भएको छ । सोचिबस्छु, वर्षौँको कैद भुक्तान गरेर व्यग्रताका साथ जेलबाट छुट्ने दिन गनिरहेको कुनै कैदीको मनोदशा पनि ठ्याक्कै मेरैजस्तो हुँदो हो ।

कहिलेकाहिँ कोठाका यी भित्ताहरुलाई पर्दा बनाएर सँगै बिताएका पलहरुको चलचित्र हेरिरहन्छु । कहिले यादको सिरानीमा टाउको राखेर तिम्रो स्नेहको बर्को ओढ्दै घण्टौँ दलीनसँग संवाद गरिरहन्छु । झ्यालमा हावाको सरसराहट चल्दा तिमीले कानमा कानेखुसी गरेजस्तो लाग्छ । रातमा अँध्यारोको चूक पोखिँदा तिमी कुरैकुरामा मसँग रिसाएजस्तो लाग्छ ।

प्रत्येक बिहान झ्यालबाट एक टुक्रा प्रकाश कोठाभित्र सुटुक्कै छिर्छ । जसरी तिमी नसोधिकन सम्झनामा आउँछौ । अनि बिहान हुर्किएर दिन भएजस्तो, तिम्रो सम्झना मभित्र रापिलो हुँदै जान्छ । साँझ आउँछ र सन्नाटाको एक गिलास वाइन मेरो हातमा थमाउँछ । उफ योे समय पनि!!

तिर्खा लाग्छ उसैगरी, जसरी मलाई तिम्रो प्रेमिल चुम्बनले आशक्त बनाउँछ । बेलाबेला तिम्रो मायाजस्तो गाढा कफी पिउन मन लाग्छ । त्यसमा थोरै बेचैनी घोल्छु, तिम्रा आँखाका नानीहरुमा मेरो मुस्कान घुलेजस्तै त्यो निर्मिमेष घुलिरहन्छ । तर सोचेको् हरेक बाटो निराशाको गञ्तव्यमा गएर टुङ्गिरहेछ । यस्तोकि, चिच्याऊँ कसैले सुन्ने छैन, गुहारुँ सहायतामा कोही आउने छैन ।

हिँस्रक जङ्गली जनावरले एकै झमकमा हमला गर्न आँटेजस्तो डर आफूमाथि उफ्रिरहेछ । आशाको ओडारभित्र लुकेर म कति दिन बाँच्नू ? कति दिन रहरका कन्दमूलहरु खोजेर खानू ? मानौं कल्पनाको बगैँचामा फुलिहेका गुलाबी मनहरुसँग फेरि कहिल्यै प्रेमील मिलन हुने छैन ।

मानौं, स्वर्गको प्रस्थानबिन्दुमा आएर पाण्डवहरु उभिएका छन् । देवताहरु उहिल्यै मरिसकेको यो लोकमा अब कसले फैसला गर्ने, को जानेछ, को यहीँ बस्नेछ ? सत्यतालाई नकार्न सकिन्न । तर फलामको चिउरा चपाउनुभन्दा गाह्रो परिरहेछ, स्वीकार्न पनि !

तिमीलाई भनेर शब्दहरुको चेसुङ तयार गर्दैगर्दा हातार हातारमै यो मङ्सिरले आँगनमै आएर मलाई बोलाइरहेको छ । के भनेर पठाऊँ उसलाई, म स्वयम् यतिबेला हजारौं अधुरा योजनाहरुको पिँजडामा कैद छु । हृदयको वाचलता, बौद्धिक बहस या विचारहरूको ताल-बेताले अभिव्यक्तिबीच कहीँकतै म पनि रुमल्लिरहन्छु क्यार।

जीवन उपयोगिताको कठोर ठिंगुरामा गुजारिरहे मैले आफूलाई, घिच्याइरहे त्यतातर्फ । कहिले पेट भर्ने रहर, कहिले आन्द्रा तृप्त पार्ने चेष्टा । कहिले दौडी भाग्ने आवेग । कहिले दिन बियाल्ने अनेक उत्कण्ठा । कहिले भागी हिँड्ने मन । कहिले लखेटिरहने मस्तिष्क ।

हुन त जीवन एउटा ठाडो भिर अनि दैनिकी एक बोझिलो भारी ।जीवन दूर भागिरहने क्षितिज र दिनाचर्या भास्सिरहने पैताला र आँखाहरू । यस्ता-यस्तै गीत न गाथा , स्वर न भाका। केवल तिम्रा यादहरु । मान्छे भइकन पनि मैले आफ्नो जन्मसिद्ध रागात्मक वृत्ति त भुसुक्कै भुल्दिएछु क्यार । क्या विधि खस्रोपन नि यो मेरो अहिले एकफेर खुसुक्क आफूलाई चड्काएर ‘हे भगवान्’ ओकल्दै तातो पानीले भरिएको चिसो गिलास मुसार्दै सम्झिन्छु, “हो त, साँच्चै । चिसो थियो उनको वक्षस्थल ।”

प्रेम, सर्वकालिनता ?
प्रेम,अवधारणा ?
प्रेम, अनुभूतिजन्य भावनाको तीव्रता ?

यदाकदा शहरका गल्लीहरूमा तिम्रो सुवास पाउँछु । मेरो नाकले भन्छ ‘तिमी यही कहीँ छौ ।
मेरो आँखाले यताउता खोजेर भन्छ,”छैन हो छैन, यता कतै छैन ।”

मन बाठो भइबोल्छ र प्वाक्क बोल्छ, “तँ आफ्नो मस्तिष्कबाट केही समय उतारी फ्यांक उसको सुगन्ध ।” त्यसपछि नाक नाक खुम्चाउँछ । आँखा परेला चिम्साउँछ । मन दंग पर्छ । छाती भुक्क फुल्छ । र, मस्तिष्क प्वाक्क परिरहिन्छ । । ।

खुट्टाहरू फेरि गति समात्छन् । र हातहरू पुनस् लय पक्डन्छन् । शहर साँझ बनिदिन्छ र आकाश मेरो छायाँलाई लुकाउँदै लैजान्छ ।

एउटा तिमी नै त छौँ । न कुनै व्याख्या गर्न गइरहेकी छु म, न तुलना । न कुनै प्रणालीगत कथन, न मुल्याकंन नै ।

बस तिम्रो विचार एकांगी र सौन्दर्यको परिकल्पनाले मलाई हायकायल बनाउँछ । आफ्नी आमाको आलिङ्गनमा हुत्तिएर जान खोजिरहेको कुनै अबोध बालकको हातजस्तो, मेरा यी हातहरु नाम्लोले थुन्चेलाई बेरेजसरी तिमीलाई बेर्न पहिलोपटक यति अधैर्य भैरहेका छन्।

प्रिय, यति भनेर पठाउँछु आजलाई, अबको समयले असङ्ख्य सहानुभूति दिएर जाओस् । कसै गरेर पार पाएछौ भने अवश्य चाडैं भेट हुनेछ । यतिबेला त म यसकारण सास फेरिरहेछु, कि याद नै सहि तिमी त साथमै छौ नि!

समय छिट्टै चलायमान होला । जीवनको बाँकी अध्याय त लेख्नु बाकी नै छ । उमेरको समुद्रमा नपुगिकन बीचैमा सुकिजाने खोला झै नहोस् हाम्रो जीवन । म पर्खिरहनेछु , कुनै एक बिहान ढाकरभरी घाम बोकेर तिमी मेरो म तिम्रो जिन्दगीमा उज्यालो छर्न अवश्य आउने नै छौ !

 


९ कात्तिक २०७८, मंगलवार १५:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु