छाङरु र टिंकरमा सञ्चार जोडिँदै
दार्चुलाको विकट व्यास गाउॅंपालिका–१ ब्यास क्षेत्र सञ्चारविहीन हुँदा त्यहॉंका दुई बस्ती लामो समयदेखि आफन्तसँग सम्पर्क अर्काको भर पर्नुपर्ने अवस्था छ । यसअघि व्यासमा नेपाल टेलिकमको स्काई फोन सेवा थियो । सोलार प्रणाली जडान गरिएको उक्त टावरमा हिमपात र हुरीबतासले क्षति हुॅंदा टावरले काम गर्न छोडेको टेलिकम दार्चुलाले जनाएको छ ।
सशस्त्र प्रहरीको ५० नम्बर गुल्म छाङरुमा वायरलेस फोन सेवा छ । त्यसैबाट स्थानीयवासीले अत्यावश्यक खबर वेशी पुर्याउने गरेका छन् । उक्त वायरलेसमा वेशीबाट खबर गर्न सकिदैन । छाङरुबाट मात्र खबर गरे फोन हुन्छ, सदरमुकामबाट फोन गरे नलाग्ने ब्यासका स्थानीयले बताएका छन् ।
अहिले एक वर्षदेखि सञ्चारविहीन बनेको कालापानी नजिकका गाउॅहरू छाङरु र टिंकरको स्काई टावर सञ्चालनमा ल्याउन प्रयास भइरहेको छ । छाङरुस्थित स्काई टावर सञ्चालनका लागि नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङ मंगलबार हेलिकोप्टरमार्फत छाङरु पुगेको ब्यास गाउँपालिकाका अध्यक्ष दिलिपसिह बुढाथोकीले बताए ।
टावर सञ्चालनका लागि विद्युत अभाव रहेको र सोलार प्यानल ढुवानी गर्न ब्यासमा चामल ढुवानी गर्न आएको हेलिकोप्टरमार्फत् नेपाल टेलिकम दार्चुलासग रहेका १६ थान सोलार प्यानल ढुवानी गर्न गाउॅपालिकाले सहजिकरण गरेको अध्यक्ष बुढाथोकीले बताए ।विद्युत अभाव र उपकरणमा समस्या देखिएर अवरुद्ध बनेको टावर मर्मत गरेर छाङरु र टिंकरमा स्काई फोन सेवा सुचारु गरिने तयारी भएको छ ।
सोमबार खाद्यान्न ढुवानीका क्रममा टिंकर पुगेका गाउॅपालिका अध्यक्ष बुढाथोकीलाई यहॉका स्थानीयले संचार सेवा बन्द हुॅदा वेशी (सदरमुकाम खलंगा) र गाउॅ (ब्यास)को सम्पर्कको टुटेको गुनासो गरे । स्थानीयको गुनासोपछि गाउॅपालिकाले सहजिकरण गरेर टेलिकमको उपकरण ढुवानी गरिएको हो । जिल्लाकै सबैभन्दा उचाईमा रहेको टिंकर गाउॅ दुई वर्षदेखि सञ्चारविहीन रहेको स्थानीय दानसिह तिंकरीले बताए ।
२१ असोज २०७८, बिहीवार १४:३२ बजे प्रकाशित































