ओलीको नेतृत्वमा अध्यक्षमण्डल गठन, भीम रावल अटाएनन्
नेकपा एमाले विधान महाधिवेशनमा अध्यक्षमण्डल गठन भएको छ। विधान महाधिवेशनको अध्यक्ष मण्डलको अध्यक्षमा केपी शर्मा ओली, उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य रहेका छन्।
यस्तै, स्थायी कमिटी सदस्यहरू रामबहादुर थापा बादल, सुवास नेम्वाङ, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा सम्मिलित अध्यक्ष मण्डल गठन गरिएको छ।
तर, एमाले उपाध्यक्ष भीम रावल भने अध्यक्ष मण्डलमा परेका छैनन्। अध्यक्षमण्डलमा रावलबाहेकका दुई उपाध्यक्ष ज्ञवाली र शाक्य भने परेका छन्।
तीन दिनसम्म चल्ने महाधिवेशनमा देशभरबाट करिब ६ हजार प्रतिनिधि सहभागी छन्। बन्द सत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलले विधान प्रतिवेदन पेश गर्नेछन्।
सहभागीहरूलाई सम्मेलन केन्द्रमा नै खाना र खाजाको व्यवस्था गरिएको छ। केन्द्रमा राखिएको मिडिया सेन्टरबाट लाइभ हेर्न सकिने व्यवस्था मिलाइएको छ। महाधिवेशन सफल बनाउन भन्दै एमालेले २ सयबढी स्वयंसेवक खटाएको छ।
१५ असोज २०७८, शुक्रवार १४:५६ बजे प्रकाशित






























