प्रधानमन्त्री देउवाका छोरा जयवीरले लिए काँग्रेसको सदस्यता
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवा राजनीतिमा प्रवेश गरेका छन्।
२६ वर्षीय जयवीरले डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ को वडा कमिटीको सिफारिसमा कांग्रेसको क्रियाशील सदस्यता लिएका छन्।
गन्यापुरा गाउँपालिका–१ असिग्राम प्रदेशसभा क्षेत्र (ख) मा पर्छ। उक्त वडाको नयाँ क्रियाशील सदस्यता सूचीको १ सय ६६ नम्बरमा जयवीरसिंहको नाम छ।
कांग्रेसबाट निर्वाचित भएका गाउँपालिका–१ का वडाध्यक्ष चेतराज भट्टका अनुसार जयवीरलाई सातौं जिल्ला अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि पठाउनेबारे छलफल भइरहेको छ।
बेलायतको युनिभर्सिटी अफ न्युयोर्कबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका जयवीरलाई वडाबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित गरेर पठाउने तयारी भइरहेको हो।
क्रियाशील सदस्यता लिएसँगै जयवीर कांग्रेसको सक्रिय राजनीतिमा आउने आँकलन गरिएको छ। जयवीरसिंह सभापति देउवाका एक्ला सन्तान हुन्।
२३ भदौ २०७८, बुधवार १४:३६ बजे प्रकाशित































