बझाङको केदारस्युँ गाँउपालिकाका जनप्रतिनिधिले रोजे नेकपा (एस)
बझाङमा नेकपा एमालेबाट निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधि नेकपा (एकीकृत समाजवादी) पार्टीमा खुल्न थालेका छन् । आइतबार बझाङको केदारस्युँ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, ४ जना वडाध्यक्ष सहित एमाले बाट निर्वाचित सबै जनप्रतिनिधिले नेकपा समाजवादी पार्टीमा सनाखत गरेका हुन् ।
एमालेबाट निर्वाचित भएका गाउँपालिकाको वडा नं १ का वडाध्यक्ष लोकेश भण्डारी बाहेक सबैले जिल्ला निर्वाचन कार्यालय चैनपुर पुगेर माधव नेपाल नेतृत्वको नेकपा समाजवादीमा सनाखत गरेका छन् ।
समाजवादी पार्टीमा सनाखत गर्नेमा केदारस्युँ गाउँपालिका अध्यक्ष इन्द्र भण्डारी, उपाध्यक्ष निशा धामी, वडा नं २ का वडाध्यक्ष चक्र बिक, वडा नं ३ का वडाध्यक्ष वीर बहादुर खाती, वडा नं ५ का वडाध्यक्ष काशीराम धामी, वडा नं ८ का वडाध्यक्ष गणेश बोहरा लगायत ६ जना गाउँकार्यपालिका सदस्य लगायतका जनप्रतिनिधिहरुले आजै निर्वाचन कार्यालय चैनपुर पुगेर सनाखत गरेको वडाध्यक्ष गणेश बोहराले बताए ।
जिल्लाका अन्य स्थानीय तहका जनप्रतिनिधिहरू भने अझै सम्म खुलेर आएका छैनन् । यसअघि माधव पक्षमा देखिए पनि अहिले सनाखत गरेका छैनन् । नेकपा एमालेका जिल्ला अध्यक्ष दिल बहादुर सिंह पनि समाजवादीमा खुलेरै लागेका छन् ।
नेकपा समाजवादीमा सनाखत गरेका केदारस्युँ गाउँपालिकाका अध्यक्ष इन्द्र भण्डारीले भोलिसम्म नेकपा एमाले बाट निर्वाचित अन्य गाउँपालिकाका जनप्रतिनिधिले पनि सनाखत गर्ने बताए ।
सनाखत गर्ने क्रममा निर्वाचन कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दे भण्डारीले अन्य स्थानीय तहका जनप्रतिनिधि सँग आफ्नो कुरा भएको र धेरैले भोलि सनाखतको लागी आउने जानकारी दिएको बताए ।
बताउँदै सनाखत गर्ने समय भएकाले निर्वाचन आयोगले एमालेबाट निर्वाचित प्रदेश सभा र स्थानीय जनप्रतिनिधिहरूलाई एमाले वा एकीकृत समाजवादी रोज्न भदौ २२ गतेसम्मको समय दिएको छ ।
२० भदौ २०७८, आइतवार १७:५९ बजे प्रकाशित






























