काबुल विस्फोटबारे बोल्यो चीन
अफगानिस्तानको राजधानी काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलनजिक गरिएको बम आक्रमणको चीनले निन्दा गरेको छ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजिअनले एक पत्रकार सम्मेलनमा काबुलमा गरिएको विस्फोटको भर्त्सना गरेका हुन्।उनले यसबाट अफगानिस्तानमा सुरक्षा स्थिति प्रस्ट भएको टिप्पणी पनि गरेका छन्।
पत्रकार सम्मेलनमा एक पत्रकारले उनलाई प्रश्न गरे, ‘विस्फोटबारे चीनको भनाइ के छ र घटनामा कुनै चिनियाँ नागरिक पनि परेका छन्रु’
जवाफमा प्रवक्ता चाओ लिजिअनले भने, ‘काबुल विमानस्थलनजिक गराइएको विस्फोटमा ठूलो जनधन क्षति भएको घटनाले चीन स्तब्ध भएको छ र चीन त्यसको निन्दा गर्छ। विस्फोटले अफगानिस्तानमा सुरक्षाको अवस्था कस्तो छ भन्ने प्रस्ट पार्छ। अहिले पनि त्यहाँको स्थिति जटिल र गम्भीर छ।’
उनले अफगानिस्तानको अवस्था सामान्य बनाउन र अफगान एवं विदेशी नागरिकको जीवन सुरक्षाका लागि सम्बन्धित पक्षले प्रभावकारी उपाय अपनाउने विश्वास पनि व्यक्त गरे।
यस्तै उनले त्यहाँस्थित चिनियाँ दूतावासबाट अहिलेसम्म त्यस घटनामा चिनियाँ नागरिकलाई क्षति पुगेको खबर नआएको जानकारी पनि दिए। बीबीसी
१२ भदौ २०७८, शनिवार १२:५९ बजे प्रकाशित






























