अब गलत सूचना राख्नेविरुद्ध पनि उजुरी गर्न पाइन्छ : ट्वीटर
चर्चित सामाजिक सञ्जाल ट्वीटरले गलत सूचना तथा जानकारी ट्वीट गर्नेकाविरुद्धमा उजुरी लिने भएको छ।
गलत सूचनाको प्रवाह बढेको र त्यसले दिनप्रतिदिन नकारात्मक असर पारेको भन्दै ट्वीटरले गलत सूचना प्रवाह गर्नेका विरुद्धमा उजुरी दिन मिल्ने व्यवस्था गर्न लागेको हो।गलत सूचना प्रवाह गर्नेका विरुद्धमा उजुरी गर्न मिल्ने व्यवस्था गरेपछि गलत सूचना प्रवाह हुने क्रम न्यूनीकरण हुने ट्वीटरका सञ्चालकहरूले आशा व्यक्त गरेका छन्।
व्यक्तिगत रूपमा अपमानित गर्ने, गाली बेइजती गर्ने, अर्काको स्वन्त्रता हनन् गर्नेजस्ता कार्यकाविरुद्धमा भने विगतमा पनि उजुरी दिन पाइने व्यवस्था ट्वीटरले गरेको थियो।गलत सूचना प्रवाह सम्बन्धमा पनि त्यही प्रक्रिया र प्रकृतिले उजुरी दिनसकिने व्यवस्था गर्न लागिएको सञ्चालकहरूले जनाएका छन्।
विषेश गरेर राजनीति, जनस्वास्थ्यलगायतका विषयमा आउने गलत सूचनालाई न्यूनीकरण गर्ने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको ट्वीटरले जनाएको छ।कुनै ट्वीटर ह्यान्डलबाट पटकपटक गलत सूचना प्रवाह भएको पुष्टि भएमा त्यसलाई निष्क्रीय पारिदिनेसम्मको योजना ट्वीटरले बनाएको छ।
अहिले सुरुमा परीक्षणका रूपमा अमेरिका, अष्ट्रेलिया र दक्षिण कोरियाका प्रयोगकर्ताहरूले गलत सूचना प्रवाह गर्नेका विरुद्धमा उजुरी दिनसक्ने व्यवस्था गरिएको छ। यो सुविधा केही महिनापछि अन्य देशहरूबाट पनि उपलब्ध हुने अधिकारीहरूले जानकारी दिएका छन्।
४ भदौ २०७८, शुक्रवार ०७:१७ बजे प्रकाशित






























