punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बडिमालिका पठाइयो सरकारी डोल

Chaupati
safha napa

डोटी जिल्ला सदरमुकाम सिलगढीबाट सोमबार बाजुरा जिल्लामा रहेको बडिमालिका मन्दिरका लागि एक सरकारी डोल पठाइएको छ । जनै पुर्णिमाका दिन लाग्ने मेलाका लागि उक्त डोल जिल्ला प्रशासन कार्यालयबाट पठाइएको हो ।

लगढीमा रहेको रुद्रध्वज गण, सशस्त्र प्रहरीको ३६ नम्बर गण तथा जिल्ला प्रहरी कार्यालय डोटीको टोलीले शैलेश्वरी मन्दिरमा उक्त डोललाई सलामी दिएपछि सरकारी कर्मचारीसहितको सरकारी डोल बाजुरा जिल्लामा रहेको बडिमालिका मन्दिरका लागि प्रस्थान गरेको हो ।

राणा शासन कालदेखि तत्कालीन डोटी गौडा अर्थात् जिल्ला कार्यालय सिलगढीमा पूजाआजा गरी विधिवत रुपमा सरकारी कर्मचारीहरुले डोल लैजाने चलन रहेअनुसार सोमबार पठाइएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए । उनले भने, ‘राणाकालदेखि डोल पूजाआज गरेर सरकारी खर्चमै पठाउने चलन रहेछ, सोहीअनुसार हामीले पनि आज पूजाआजा गरेर डोल पठाएका छौँ ।’

उक्त सरकारी डोल बडिमालिका मन्दिरमा पुग्न कम्तीमा पनि एक हप्ता समय लाग्ने जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । बडिमालिका मन्दिरका लागि अछाम, बाजुरा, बझाङ तथा डोटीबाट वर्षेनी डोल लैजाने चलन रहेको छ ।

सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा रहेको बडिमालिका क्षेत्र धार्मिक तथा प्राकृतिक सम्भावना रहेको क्षेत्र भएका कारण जनै पूर्णिमामा उक्त मन्दिरमा भक्तजनको मेला लाग्ने गरेको शैलेश्वर क्षेत्र विकास समितिका अध्यक्ष तथा पुजारी प्रेमशङ्कर भट्टले बताए ।

उनले भने, ‘भक्तजनले चिताएको पुग्ने विश्वासका आधारमा बडिमालिका मेलामा वर्षेनी भक्तजनको भिड लाग्छ, यो सुदूरपश्चिमकै पवित्र तीर्थस्थल हो ।’ समुद्री सतहबाट करिब चार हजार २०० मिटर उचाइमा रहेको बडिमालिका जान जिल्ला सदरमुकाम सिलगढीबाट एक दिन गाडीमा या दुई दिन पैदल यात्रा गर्नुपर्ने सिलगढीका स्थानीयवासी तेजबहादुर खड्काले जानकारी दिए।

सिलगढीबाट डोलको यात्रा शुरु हुँदादेखि नै गाउँलेले बाटोमा पुजाको थाली राखेर तीर्थयात्रीको यात्रा सफल होस् र बडिमालिकाले सबैलाई आशिर्वाद दिउन् भन्ने कामनासहित ठाउँठाउँमा पानीका घडा र फूलमालाले स्वागत गर्ने गर्दछन् ।

डोल लगेर बडिमालिका जान लागेका मालपोत कार्यालय डोटीका कर्मचारी नारद गिरीले भने, ‘तीर्थयात्रीको यात्रा सफल होस् भन्ने कामनासहित ठाउँ ठाउँमा फूलमाला र पानीका घडा राखेर स्थानीयले स्वागत गरेका हुन्छन्, फर्किने समयमा हामीले ती घडाहरुमा बडिमालिकाको प्रसाद राखेर आउछौँ ।’

बडिमालिका जाने क्रममा बाटोमा खाने बस्ने व्यवस्थाका लागि भने समस्या रहेको छ । उक्त क्षेत्रमा जनै पुर्णिमाको मेला बाहेक अन्य समयमा कमै मानिस घुम्न जाने गर्छन् । बडिमालिका जाने क्रममा बाटोहरुमा थुप्रै साना मन्दिर, वन्यजन्तु, खोला, झरना आदि देख्न पाइने गरेको बडिमालिका मन्दिर गएका बताउँछन् ।

बडिमालिका जाने बाटोमा त्रिवेणीधाम पर्छ । तीनवटा नदीको संगम रहेको उक्त धाममा अधिकांश तीर्थयात्रीले आफ्ना स्वर्गीय बाबुआमाको श्राद्धसमेत गर्ने गरेको शैलेश्वरीका पुजारी भट्टले बताए । उनका अनुसार त्रिवेणीधामबाट कम्तीमा पनि छ घण्टा हिँडेपछि बडिमालिका पुगिन्छ । वर्षमा धेरै समय हिउँ पर्ने र लामो समयसम्म नपग्लिने बडिमालिकामा वर्षेनी जनै पुर्णिमाको समयमा नेपाल र भारतका थुप्रै भक्तजन मेला भर्न आउने गर्छन् ।

प्राकृतिक छटाले भरिपूर्ण बडिमालिका तथा खप्तड क्षेत्रको पर्यटकीय विकासका लागि सरकारले त्यति प्रभावकारी योजना भने बनाउन सकेको छैन । जनै पुर्णिमाको बेला चतुर्दशीको दिन बडिमालिकामा लाग्ने विशेष मेलामा पृथ्वीनारायण शाहकै पालादेखि नै सरकारीस्तरबाट पूजा गर्ने चलन रहेको सिलगढीबासी बताउँछन् । बडिमालिकामा जनै पुर्णिमाको दिन राति १२ बजेदेखि नै तीर्थयात्री पूजा गर्न लाम लागेर बस्ने गर्दछन् ।

पौराणिक कथाअनुसार महादेवकी पत्नी सतीदेवीका पिता दक्ष प्रजापतिले यज्ञ गर्ने समयमा महादेवलाई आमन्त्रण नगरी अपमान गरेपछि क्रुद्ध भएकी सतीदेवी यज्ञ कुण्डमा हाम फालेपछि उनको मृत शरीर बोकेर हिडेका महादेवको काँधबाट सतीदेवीको अङ्ग पतन भई बडिमालिका मन्दिर स्थापना भएको किंवदन्ती छ ।रासस

 


२५ साउन २०७८, सोमवार १९:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु